विराटनगरबाट ३ जना नक्कली परीक्षार्थी पक्राउ

विराटनगर २१ असोज । विराटनगर महानगरपालिका–९ मेनरोडको एक घरमा बसेर परीक्षा लेख्दै गरेका ३ जनालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्ने नक्कली परीक्षार्थीमा सप्तरी राजविराज–४ का २३ वर्षीय सन्तोष गुप्ता, सुनसरी बर्जु–५ चिमडीका २४ वर्षीय विक्लप चौधरी र रामगञ्ज–४ का देवकृष्ण साह रहेका छन् । पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान थालिएको डीएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

महेन्द्र मोरङ क्याम्पसमा २ जना विद्यार्थीहरु परीक्षा हलभित्र बसेका र उनीहरुले वाट्एपमार्फत प्रश्नपत्र ‘आउट’ गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुले प्रश्नपत्र ‘आउट’ गर्ने र नक्कली परीक्षार्थीले घरको कोठामा बसेर उत्तर लेखिदिने गरेको डीएसपी जोशीले बताउनुभयो ।

पक्राउ परेकाहरुले डेरा लिएको कोठामा बसेर प्रश्नको उत्तर लेख्ने र पुनः कलेजमा लगेर दिने गरेको पाइएको छ ।