विराटनगर १७ असाेज । मोरङको बेलबारीमा पैनीले बगाएर बिहीबार नाबालकको मृत्यु भएको छ ।
बेलबारी नगरपालिका–८ बरियातीझारका मेघराज कटुवालका २ वर्षीय छोरा दिप्सन कटुवालको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । उनका अनुसार घरदेखि करिब १ किलोमिटर दक्षिणमा रहेको धानखेतमा बिहान ११ः३० बजेतिर दिप्सनको शव फेला परेको हो ।
घरनजिकको पैनीले बगाएर नाबालकलाई धानखेतमा पुर्याएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार खेल्ने क्रममा नाबालक पानी बगिरहेको पैनीमा खसेको र त्यही पैनीले बगाएर खेतमा पुर्याएको प्रारम्भिक अनुमान छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।