विराटनगर २९ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ मोरङको कटहरीमा जारी कृषि एक्स्पो अवलोकन गरी कृषि क्षेत्रको प्रवद्र्धनबाट नै देश विकासले गति लिन सक्ने बताउनु भएको छ ।
आज विराटनगर आउनु भएका प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले कटहरीस्थित कृषि थोक बजारमा आयोजना गरेको एक्स्पो अवलोकन गर्न पुग्नु भएको थियो । प्रचण्डलाई महासंघ कोसी अध्यक्ष राजेन्द्र राउतसहित पदाधिकारीले स्वागत गर्नुभएको थियो । उहाँले एक्स्पोमा राखिएका स्टलका बारेमा जानकारी लिँदै महासंघ प्रतिनिधिहरुसँग छलफल गर्नुभएको थियो ।
महासंघका अध्यक्ष राउतले कोसी प्रदेशका किसान, उद्यमी र लगानीकर्तालाई एकै थलोमा भेला पारिएको पूर्वप्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो ।
प्रचण्डले यस किसिमका आयोजनाले कृषि क्षेत्रको उन्नयनका लागि सहयोग पुग्ने बताउँदै कृषिमा आश्रित किसानको जीवनस्तर सुधार गर्न यान्त्रीकरण र आधुनिक प्रविधि अपनाउन आवश्यक रहेको सुनाउनुभयो । उहाँले भन्नुभयोे,‘हामी सरकारमा छँदा कृषि क्षेत्रको समग्र विकासका लागि प्रयास गरेका हौं । अब पनि प्रयास गरिरहने छौं ।”
त्यस अवसरमा महासंघ अध्यक्ष राउतसहित पदाधिकारीले मायाको चिनो प्रदान गर्नुभएको थियो ।