चीना थापा
विराटनगर- कोशी प्रदेशमा ८ हजार मिटर भन्दा अग्ला कञ्चनजङ्घा, मकालु, कुम्भकर्ण मात्रै होइन संसारकै सबै भन्दा अग्लो हिमाल सगरमाथा पनि छ । यो बाहेक प्राकृतिक छटाले भरिपूर्ण थुप्रै स्थानहरू पनि यहाँ छन् । धार्मिक पर्यटनको कुरा गर्ने हो भने पाथीभरा, हलेसी, वराहक्षेत्र, पिण्डेश्वरी, दन्तकाली, सिद्ध काली, मनकामना जस्ता मठ मन्दिर पनि यही प्रदेशमा छन् । नेपालको सवै भन्दा होचो स्थान कचनकवल पनि यही प्रदेशमा अवस्थित छ ।
बाह्य पर्यटकले संसारकै अग्लो चुचुरो सगरमाथा र खुम्वु क्षेत्र पुग्नका लागि अहिले काठमाण्डौबाट हावाइ मार्गको प्रयोग गरिरहेका छन् । पर्यटकहरु लुक्लाबाट नाम्चे बजार हूँदै त्यहाँ पुग्ने गर्छन । सोलुखुम्बुकै फाप्लु विमानस्थल भएर पद यात्रा गर्दै पर्यटकहरु खुम्बु क्षेत्र जाने गरेका छन् ।
यो बाहेक कोशी प्रदेशको बिराटनगर र पूर्वी नाका काँकड्भिट्टाबाट पनि सडक मार्ग हूँदै पनि यो क्षेत्रमा पुग्न सकिन्छ । भारतीय पर्यटकका लागि कोशी प्रदेशको विराटनगर र काँकड्भिट्टा सडक मार्ग प्रयोग गर्नु अझ सहज हुन्छ । सडक मार्गबाट सोलुको सल्लेरी सम्म पुग्नका लागि सडक पूर्वाधारको राम्रो ब्यवस्था छ । विराटनर र काँकड्भिट्टाबाट एक दिनको सडक यात्रबाट सल्लेरी पुग्न सकिन्छ ।
सल्लेरीबाट ६ घण्टा कच्ची सडकमा सवारीका साधन चल्ने गरेका छन् । त्यसपछि भने पैदल मार्ग हुँदै सगरमाथाको काख नाम्चे बजार पुग्न सकिन्छ । नाम्चेबाट पैदल यात्रा गर्दै सगरमाथा आधार शिबिर पुग्दा हिमालको काखमा समय विताउने एक मात्र प्रदेश कोशी हो। यसरी पैदल मार्ग हिड्ने हो भने प्राकृती र साँस्कृतीको अनुपम स्वाद र आनन्द कोशी मै लिन सकिन्छ । विश्वका साहसिक, प्राकृतिक तथा सांस्कृतिक विषयमा चाख राख्ने पर्यटकका लागि सोलुखुम्बु आफैँमा अब्बल छ ।
कोशी प्रदेशको राजधानी विराटनगर र पूर्व नाका काकँड्भिट्टाबाट सडक मार्ग हूँदै जाँदा बाटोमा सुबिधा सम्पन्न होटलहरु भेटिन्छन् जुन आर्थिक मेरुदण्डको रुपमा रहेका छन् । पर्यटन ब्यवसायीहरु यसबाट उत्साहित छन् । क्षेत्रीय होटल संघ विराटनगरका अध्यक्ष राजन श्रेष्ठका अनुसार पर्यटन मात्र हैन सबै क्षेत्रले कोशी प्रदेश अब्बल रहेको छ ।
हिमालदेखि तराईका सम्भावना
कोशी प्रदेश भन्ने वित्तिकै धेरै बिषयहरु सँगै जोडिएर आउने उनको भनाई छ । हिमाल, पहाड र तराईको पर्यायको रुपमा चिनिने कोशी प्रदेश सबै क्षेत्रको मिश्रणमा बनेको छ । पर्यटकीय स्थलहरु, धार्मिक स्थलहरु, कृषिमा विविधता, जलस्रोत र जलविधुत, ऐतिहाँसिक आद्योगिक क्षेत्र, ब्यवसायिक केन्द्र, स्वास्थ्य र शिक्षाको हब तथा राजनीतिकको उद्गम स्थल हो, कोशी प्रदेश ।
१४ वटा जिल्ला भएको कोशी प्रदेश आफैँमा बहुआयामिक छ । एक महानगपालिका दुई उपमहानगर पालिका, ४६ नगरपालिका र गाउँपालिका ८८ वटा गरी १३७ वटा स्थानीय तह छन् ।
कोशीप्रदेशमा कृषिको विविधता देखिन्छ। यहाँ धान, मकै, गहुँ, आलु, तरकारी, फलफूलआदिको उत्पादनमा कोशी प्रदेश अब्बल रहेको तथ्यांकमा दखिन्छ । उर्वर भूमि र अनुकुल जलवायुका कारण कृषि उत्पादनमा कोशी प्रदेशलाई राम्रो मानिन्छ ।
कोशी प्रदेशमा जलस्रोत प्रचुर मात्रामा छ, जसले जलविद्युत उत्पादनमा प्रसस्त सम्भावना बोकेको छ। तमोर, अरुण, दुधकोशी, लिखु, सुनकोशी लगायतका ठुला नदीहरू यस प्रदेशमा छन् । जसले जलविद्युत उत्पादनमा कोशीले प्रसस्त अबसरहरु प्राप्त गरेको छ। यसबाट आत्मनिर्भर ऊर्जा उत्पादन तथा आर्थिक वृद्धिमा टेवा पुगेको छ ।
२०८० पुस मसान्तसम्म कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा निर्माण सम्पन्न ४३ वटा जलविद्युत आयोजनाहरुको विद्युत उत्पादन क्षमता ४७८.२५ मेगावाट छ । यी आयोजनाहरु मध्ये सोलुखुम्बु जिल्लामा निर्माण सम्पन्न भएका आयोजनाहरुको उत्पादन क्षमता सबैभन्दा बढी १९०.४ मेगावाट रहेको छ । झापा जिल्लामा झापा इनर्जी प्रा.लि. ले उत्पादन गरेको १० मेगावाट सौर्य उर्जा नेपाल विद्युत प्राधिकरणको सवस्टेशनमा जडान गरिएको छ ।
कोशी (उत्तर दक्षिण) लोकमार्ग अन्र्तगतको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजना अन्तर्गतको ४९ कि.मी. ६ लेन सडक तथा विराटचोक–घिनाघाट ४ लेन सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जसले कोशी प्रदेशमा विकासको ब्रेक थ्रु गरेको छ। पूर्व पस्चिम राजमार्ग अन्तरगत इटहरीदेखि पूर्ब काँकडभिट्टासम्म एसियन हाईवे सडक विस्तारले तिब्र गति लिनु नै कोशी प्रदेशमा अर्को एउटा सम्भावनाको ढोका खोलेको छ । यसबाट ब्यवयासी उत्साहित छन् ।
विराटनगरको रानीदेखि किमाथाङ्का निर्माण सम्पन्न हुनु, राजमार्गको बिस्तार, विराटनगर धरान ६ लेन सडक बिस्तार, मदनभण्डारी राजमार्गको तिब्र निर्माणले सबै तिरबाट कोशीलाई विकासमा जोड्नुले विकासको तिब्र छन यहाँ देखिएको नेपाल भारत उद्योग वाणिज्य संघका अध्यक्ष मुुकेश उपाध्याय बताउँछन् ।
कोशी प्रदेशमा पर्यटकीय स्थलहरूको पनि राम्रो सम्भावना छ। असंख्य मठ मन्दिर, पाटीपौवा, गुम्बा, मस्जिदले भरिपूर्ण कोशी धार्मिक पर्यटनको उत्तिकै सम्भावना बोकेको ठाउँ हो । ताप्लेजुङको पाथीभरा, इलामको माईपोखरी र सानी पाथीभरा, झापाको अर्जुनधारा र सताक्षी धाम, सुनसरीको बराह क्षेत्र, बुढासुब्बा, पिण्डेश्वरी, दन्तकाली र रामधुनी, खोटाङको हलेसी महादेव लगायत बराहपोखरी, साल्पा पोखरी, दुधकुण्ड, कालिका देवी, छिन्ताङ देवी, कन्काई आदि प्रख्यात धार्मिक स्थल हुन् यी क्षेत्रको संरक्षण र विकासको लागि कोशी प्रदेश सरकारले पनि राम्रै लगानी गरेको छ ।
प्राकृतिक सम्भावना
विश्वकै गहिरो अरुण उपत्यका, ३२ प्रकारका लालीगुराँस मध्ये २८ प्रकारका लालीगुराँस पाइने तीनजुरे–मिल्के–जलजले (टिएमजे), नेपालकै अग्लो ह्यात्रुङ झरना, साल्पापोखरी, सभापोखरी यहाँका गहना हुन् ।
कोशी प्रदेशमा तराई र पहाडको दुरी एकदमै नजिक छ । भारतीय सीमाबाट एक घण्टा सडकको दुरीमा चिसो स्थानमा पुग्न सकिन्छ । भारतको बिहार र पश्चिम बङ्गालमा गर्मीले जनजीवन अस्तव्यस्त भएका बेला पूर्वी नाका काँकडभिट्टा, रानी नाका जोगबानी र भाण्टाबारी नाकाबाट एक देखि डेढ घण्टाको सडक यात्रामा पर्यटकीय स्थल भेडेटार र कन्याम पुग्न सकिन्छ । जहाँ चिसोको मात्रै होइन प्रकृतिलाई हेरेर समेत आनन्दित हुने पर्यटकको कमी छैन ।
प्रदेशको सबैभन्दा रमणीय जिल्ला इलाम चिया खेतीका कारण चर्चित छ । अर्गानिक चिया उत्पादनमा ख्याति कमाएको यो जिल्ला प्राकृतिक छटाले सुन्दर छ । कोशी टप्पुलाई अर्ना र चराको स्वर्ग मानिन्छ । यो स्थान विश्वका पर्यटकका लागि रोजाइको केन्द्र हो । नजिकै रहेको बर्जु तालमा बिभिन्न आगन्तुक चरा हेर्न आउने प्रसस्त पर्यटकहरु छन् ।
२०३८ सालमा बेलायती युवराजले भ्रमण गरेको भेडेटार र २०६८ सालमा सिएनएनले भेडेटार नाम्जे गाउँलाई विश्वका उत्कृष्ट १० पर्यटकीय गन्तव्यको सूचीमा राखिसकेकाले कोशीको ख्याति विश्वमा फैलिएको छ । सर्वोच्च शिखर सगरमाथा मात्र होइन, विश्वको तेस्रो अग्लो चुचुरो कञ्चनजङ्घा हिमाल, किरात धर्मका प्रवर्तक फाल्गुनन्दको कर्म भूमि भएको क्षेत्र पनि हो । साथै अत्यधिक उर्वर तथा घना बस्ती भएको झापालाई धान उत्पादनको भण्डारको रुपमा लिइन्छ ।
पूर्वाधार र उत्पादन
धरान, इटहरी, विराटनगर, दमक जस्ता सहरहरू औद्योगिक केन्द्रका रुपमा विकास हुँदै गएका छन् । यी सहरको विकासमा संघीय सरकारले मात्र हैन प्रदेश सरकारको पनि उस्तै लगानी छ। यहाँका उद्योग कलकारखानाले धेरैलाई रोजगारी दिएको छ, आन्तरिक मात्र हैन बाध्य अर्थात भारतीय कामदारका सहारा कोशी प्रदेशमा संचालित उद्योगहरु बनेका छन् । स्थानीय उत्पादनलाई मात्र नभई निर्यातकालागि पनि योगदान पुर्याउँदै आएका छन् । विशेष गरी, जूट, चिनी, चामल मिल, खाद्यान्न, लत्ताकपडा, सिमेन्ट, फलाम र प्लाईउड उद्योगहरू यहाँप्रचलित छन्।
कोशी प्रदेशमा सिँचाइ सुविधाको विकास भइरहेकाले कृषिमा राम्रो उत्पादन हुँदै आएको छ। साथै, यातायात र सञ्चार पूर्वाधारको सुधार र विस्तार पनि भइरहेको छ, जसले गर्दा आर्थिक गतिविधिहरूलाई चलायमान बनाएको उद्योगी उपाध्याय बताउँछन् ।
कोशी प्रदेशमा शिक्षाको स्तरमा पनि राम्रो सुधार आएको छ। यहाँका शैक्षिक संस्थाहरूले दक्षजनशक्ति उत्पादन गरिरहेका छन्, जसले विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका छन् । कोशी प्रदेश सरकार आफैँले संचालनमा ल्याएको मनमोहन प्राबिधिक विश्वविद्यालय नेपालकै एक मात्र प्राबिधिक विश्वविद्यालय हो । यहाँबाट उत्पादित जनशक्ति बेरोजगार हुनु पर्ने अबस्सथा अहिलेसम्म नआएको विश्वविद्यालयका उपकुलपति सुवासश्री पोखरेलले बताए । ‘कोशी प्रदेश शिक्षामा स्वयम् आफैँ धनी छ, उनले भने, नेपालमै पहिलो पटक प्राबिधिक विश्वविद्यालय ल्याउनु नै ठुलो बिषय बन्यो । तर लगानी भनेँ प्रदेश सरकारले बढाउनु पर्छ ।’
कोशी प्रदेश सरकारका बाहेक तिनवटा मेडिकल कलेज, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी, मेची लगायतका विशेषज्ञ अस्पतालहरु मात्र हैन, विराटनगरमा नाम चलेका आधा दर्जन बढी निजी अस्पतालहरुले राजधानी स्वास्थ्यको लागि हब हो भन्ने गरिन्छ । प्रदेशले भारतीय नाका नजिक रहेकाले आँखा अस्पताल, प्रसुती गृह, जेनेरल स्वास्थ्य सेवा र शिक्षण संस्थाहरु, विश्वविद्यालय, मेडिकल कलेज मार्फत स्वास्थ्य र शिक्षा सेवामा छलाङ मार्दै काशी प्रदेशले बेच्दै विदेशी मुद्रा समेत आर्जन गर्दै आएको छ।
विराटनगर पुरानो औद्योगिक नगरी मात्र हैन, अन्तर्राष्ट्रिय व्यापारको विश्वसामु चिनिएको स्थान पनि हो । वि.सं १९९३ मा स्थापना भएको नेपालकै पहिलो उद्योग विराट जुट मिल र १९९४ को जुद्ध म्याच फ्याक्ट्रीले नेपालमा उद्योग धन्दाको इतिहास बोकेका छन् । यी क्षेत्रको संरक्षण र प्रवद्र्धन कोशी प्रदेशको चुनौती पनि हो ।
के भन्छ तथ्यांक
हरेक हिसावमा अब्बल कोशी प्रदेश आर्थिक बृद्धिदरमा पनि नराम्रो अबस्थामा देखिँदैन । आर्थिक वर्ष २०८०-८१ को पहिलो ६ महिनाको अवधिमा नेपाल राष्ट्र बैंकले गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले उद्योगहरुको औसत क्षमता उपयोग ४१.७ प्रतिशत रहेको देखाएको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा उक्त उद्योगहरुको औसत क्षमता उपयोग ४०.९ प्रतिशत रहेको थियो ।
उत्पादित वस्तुमा चप्पल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ७८.८ प्रतिशत रहेको छ भने वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबै भन्दा कम ५.९ प्रतिशत देखिएको छ। चप्पलको उत्पादन सबैभन्दा बढी ४९ प्रतिशतले बढेको छ भने घरेलु धातुका सामान उत्पादन सबैभन्दा बढी २२.७ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७९-८० को पहिलोे ६ महिनाको अवधिमा कुल १७ हजार ५५८ जना श्रमिक कार्यरत रहेकोमा आर्थिक वर्ष २०८०-८१ को पहिलो ६ महिनाकोअवधिमा ०.९ प्रतिशत नयाँ श्रमिकले रोजगारी पाएका छन् । यो संख्या १७ हजार ७२० जनामा पुगेको छ ।
कोशी प्रदेशको कुल औद्योगिक रोजगारी मध्ये ९२.४ प्रतिशत स्वदेशी र ७.६ प्रतिशत विदेशी कामदारहरुले रोजगारी प्राप्त गरेका छन् । २०८० असार मसान्तको तुलनामा २०८० पुस मसान्तमा कुल औद्योगिक कर्जा ०.५ प्रतिशतले बढेर रु.१ खर्ब २९ अर्व ८३ करोड पुगेको राष्ट्रबैकको प्रादेशिक तथ्यांकमा देखिन्छ ।
चालु आर्थिक वर्ष २०८०-८१ मा प्रदेशगत रुपमा आर्थिक वृद्धिदर गण्डकी प्रदेशको सबै भन्दा बढी ४.५५ प्रतिशत रहने अनुमान रहेको छ भने कर्णाली प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा कम ३.३९ प्रतिशत रहने अनुमान छ । आर्थिक वर्ष २०७९-८० मा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ३.३० प्रतिशत रहेको थियो भने मधेस प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा कम १.५० प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७९-८० मा सो वृद्धिदर २.१३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष २०८०-८१ मा कोशी प्रदेशको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.५१ प्रतिशत रहने भनिएको छ।
आर्थिक वर्ष २०८०-८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५.८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क कार्यालयको अनुमान रहेको थियो । गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा १५.७९ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८०-८१ मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको हिस्सा ३३.२ प्रतिशत, उद्योग क्षेत्रको १५.९ प्रतिशत र सेवा क्षेत्रको ५०.९ प्रतिशत योगदान रहने भनिएको छ ।