कृषि एक्स्पोको तयारी पुरा, भारतको विहार र कोलकत्ताका २० वटा स्टल हुने

विराटनगर २५ भदौ । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा हुन लागेको कृषि एक्स्पोको तयारी पुरा भएको छ । भदौ २७ देखि ३० गते सम्म मोरङ कटहरी स्थित कटहरी कृषि थोक बजारमा कृषि एक्स्पो हुँदैछ । एक्स्पोमा करीब १३० वटा स्टल रहने छन् जसमा भारतको विहार र कोलकत्ताबाट २० वटा स्टल हुने छ ।

कोशी प्रदेशमा प्रादेशिक अर्थतन्त्रको एकतिहाई भन्दा बढि हिस्सा ओगट्ने कृषिजन्य उत्पादनको प्रवद्र्धन र विस्तारको सम्भावनालाई मध्येनजर गर्दै यसको उत्पादन वृद्धि, बजारीकरण, मूल्य अभिवृद्धिको विकास गरी रोजगारी सिर्जनाका साथै राष्ट्रिय अर्थतन्त्रको विस्तारमा सघाउ पुर्याउने उद्देश्यले कोशी प्रदेशमा पहिलो पटक नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कृषि एक्स्पो आयोजना गरेको हो ।

आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै एक्स्पोका मुख्य आकर्षणहरु नविनतम् औजार, यन्त्र तथा प्रविधिको प्रदर्शनी, उन्नत जातका पशुपंिक्ष प्रदर्शनी, पर्यावरण–मैत्री ज्ञान, शिप र प्रविधि,कृषि विज्ञसंग छलफल तथा सेमिनार कार्यक्रम, नयाँ नयाँ अनुसन्धान र परियोजनाहरूको प्रस्तुती, बजार तथा व्यापारका अवसरहरु, पशुपंक्षी तथा कृषि उपज प्रतियोगिता, खेत देखी भान्साको अनुभव तथा फुड फेस्टिवल एवंजिल्ला बाहिरबाट मेला अवलोकन गर्न आउने कृषकका लागि निःशुल्क खाना तथा आवासको व्यवस्था रहने जनाएको छ ।

एक्स्पोलाई व्यवस्थित र सहज बनाउन काम विभाजन गरि विभिन्न समितिहरु गठन गरिएको नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिनुभयो । एक्स्पो हुने स्थानमा जम्मा ५ वटा व्लक छुटयाइएको छ । जसमा ‘ए’ मा पशुपंक्षी, ‘बी’ मा कृषि, ‘सी’ मा मेशिनरी ‘डी’ मा फूड स्टल र ‘ई’ मा गोष्ठी तथा परामर्श सेवा रहेको छ ।

एक्स्पो अवधिभर कृषि, पशुपंक्षी, कष्टम हाइरिंग, क्लाईमेट चेन्ज, जैविक मल तथा विषादी बनाउने र प्रयोग विधि लगायतका विषयमा नेपाल तथा भारतका विज्ञबाट संवाद कार्यक्रम राखिएको छ । यसैगरी कृषि व्यवसायी वीच विटुवी कार्यक्रम समेत राखिएको पत्रकार सम्मेलनमा जनाईएको छ ।

एक्स्पोमा जिल्ला नगर उद्योग वाणिज्य संघहरु, कृषि ज्ञान केन्द्र, १३७ वटा स्थानीय तह, कृषक, कृषी व्यवसायी, सहकारी, काठमाण्डौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, कृषि कलेजबाट सहभागी हुनका साथै समुद्घाटन कार्यक्रममा भारत, विहार राज्यका माननीय कृषि मन्त्री लगायत कृषि विभाग र विज विभागका विज्ञहरुको सहभागिता रहने कार्यक्रम रहेको छ । कृषि एक्स्पोमा प्रवेश निःशुल्क गरिएको अध्यक्ष राउतले बताउनुभयो ।

कृषि एक्स्पोमा प्रदेश सरकार, कोशी प्रदेश, उद्योग कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ, स्वीस सरकार विकास सहयोग एसडीसीले एक्स्पोको प्रवद्र्धन गरिरहेको छ भने नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) र कटहरी गाउंपालिका सहयोगी संस्था रहेका छन् ।

एक्स्पोको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक रहेको छ भने प्रायोजकमा बोहरा ग्रुप, कृषि विकास बैंक र मुक्तीनाथ कृषि विकास कम्पनी लि. रहेको छ । यसैगरी एक्स्पोको सह प्रायोजकमा एनएमवि बैंक, सिद्धार्थ बैंक, नविल बैंक, बुढीगंगा गाउंपालिका र जहदा गाउंपालिका रहेको कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले जानकारी दिनुभयो ।