असोज १७ देखि विराटनगरमा विराट सडक महोत्सव हुने

विराटनगर २० भदौ । आगामी असोज १७ देखि विराटनगरमा विराट सडक महोत्सव हुने भएको छ । मन्जिना मुभिज क्रियसन प्रा.लिको आयोजनामा हुने महोत्सव असोज २३ सम्म विराटनगर हिमालय रोडमा हुने भएको हो ।

आयोजकले बुधबार पत्रकार सम्मेलन गरि मन्जिना मुभिजले विगत ४ वर्षदेखि सडक महोत्सव गर्दै आएको जनाएको छ । ऐतिहासिक तथा सांस्कृतिक नगरी विराटनगरको ऐतिहासिकता तथा सांस्कृतिक सभ्यतालाई जीवन्त राख्दै नयाँ पीढीमा समेत पुस्तान्तरण गर्ने उद्धेश्यले सो महोत्सव आयोजना गर्न लागेको आयोजक मन्जिना मुभिज क्रियसन प्रा.लि.का अध्यक्ष जतिन तम्रकारले बताउनुभयो ।

३० वटा विभिन्न जातिका खानाका स्टल रहने र आफ्नै संस्कृति, परम्पराको प्रबद्र्धन गर्दै दैनिक सांगितिक कार्यक्रम र विभिन्न जातिका खानाका परिकार विराट सडक महोत्सवका मुख्य आकर्षण रहने आयोजकले बताएको छ । महोत्सवमा १५ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।