आवधिक योजना, नीति तथा कार्यक्रम र बजेटको तालमेल मिलेन : मुख्यमन्त्री कार्की

विराटनगर ३१ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आवधिक योजना एकातिर निति तथा कार्यक्रम र बजेट अर्काेतिर गईरहेको बताउनुभयो । कोशी प्रदेश योजना आयोगले पञ्चबर्षिय आवधिक योजना सार्वजनिक गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको विकासको आधारको रुपमा रहेको आवधिक योजनासँग निति तथा कार्यक्रम र बजेट मिल्न नसकोको बताउँदै अवका दिनमा यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारको सय दिन पुगेको अवसरमा सार्वजनिक गरिएको आवधिक योजनालाई अबको केही दिनमा नै कर्मचारी, सासंद सबैको हात हातमा पुर्याउन निर्देशन दिदै मुख्यमन्त्री कार्कीले कर्मचारी र सासंदहरुले राम्रोसँग अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । आवधिक योजनासँग निति तथा कार्यक्रम र बजेटको तालमेल मिलाउनको लागि सबैले अध्ययन गरेर सोही अनुसारको योजना मात्र अगाडि सार्नुपर्ने उहाको भनाई छ । आगामि दिनमा सोही अनुसार अगाडि बढ्न पनि उहाँले आग्रह गर्नु भयो । आर्थिक बर्ष २०८५÷०८६ सम्ममा कोशी प्रदेशको आर्थिक वृद्धिदर ७.५५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ ।

कोशी प्रदेश सरकारको आर्थिक बर्ष २०७९/०८० मा २.३८ प्रतिशत आर्थिक वृद्धिदर थियो भने आर्थिक बर्ष २०८०/०८१ मा ३.५१ प्रतिशत रहेको थियो । प्रदेश योजना आयोगले विहिबार सार्वजनिक गरेको दोस्रो आवधिक योजना अनुसार आर्थिक वर्ष २०८५ /८६ मा प्रतिव्यक्ति कुल ग्रार्हस्थ उत्पादन १६४५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा १२९९ अमेरिकी डलर थियो भने आर्थिक वर्ष २०८० /८१ मा १३३६ अमेरिकी डलर थियो । त्यसैगरी आर्थिक वर्ष २०८५/८६ सम्ममा गरिबीको रेखामुखी रहेको जनसंख्या १२ प्रतिशमा झार्ने लक्ष्य रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा १७.५० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका थिए भने गएको आर्थिक वर्षमा यसमा ०.३० प्रतिशत घटेर १७.२० प्रतिशत पुगेको छ । यसैगरि अहिले १० प्रतिशत रहेको बेरोजगारी दरलाई आर्थिक वर्ष २०८५/८६ सम्ममा ५.४ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ।

आर्थिक बर्ष २०८५/०८६ मा कोशी प्रदेशका जनताको अपेक्षित आयु ७२ बर्षको अनुमान गरिएको छ । मातृमृत्यु दर (प्रतिलाख जीवित जन्ममा) ७० मा झार्ने अनुमान गरिएको छ । त्यस्तै पाँच बर्ष मुनिको बाल मृत्युदर (प्रति हजार जीवित जन्ममा) २० मा झार्ने अनुमान गरिएको छ । त्यसैगरी आर्थिक बर्ष २०८५/०८६ सम्ममा साक्षरता दर ९० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ भने श्रमशक्ति सहभागिता दर ६० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । लैङ्गिक विकासको सूचांक ०.९२ पुर्याउने लक्ष्य राखिएको छ भने मानव विकासको सूचांक ०.६२ पुर्याउने लक्ष्य छ ।

आवधिक योजनामा डिजिटल साक्षरता ९० प्रतिशत पुर्याउने अनुमान गरिएको छ भने विधुत उत्पादन २२०० मेगावट अनुमान गरिएको छ ।आवधिक योजनामा उल्लेख भएको क्षेत्रगत परमाणात्मक लक्ष्य अनुसार कुल ग्रार्हस्थ उत्पादन (उपभोक्ता मूल्यमा) १३१७.९५ अर्वमा पुर्याउने लक्ष्य रहेको छ भने कृषि क्षेत्रको बार्षिक वृद्धिदर ६ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ भने उद्योग क्षेत्रको बार्षिक वृद्धिदर १०.५६ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ ।

आर्थिक बर्ष २०८५/०८६ सम्ममा सेवा क्षेत्रको बार्षिक वृद्धिदर ७.४१ प्रतिशत पुर्याउने अनुमान गरिएको छ । प्रतिव्यक्ति कुल गार्हस्थ (उत्पादन उपभोक्त मूल्यमा) १६४५ अमेरिकी डलर पुर्याउने लक्ष्य अनुमान गरिएको छ । कोशी प्रदेशको आर्थिक बर्ष २०८५/८६ सम्ममा २.१० प्रतिशत हुने अनुमान गरिएको छ । कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी पञ्च बर्षिय आवधिक योजनाको मुख्य मुख्य आयोजनाहरु प्रस्तुत गर्दै दोस्रो आवधिक योजनाको सोच :‘शुसासित, खुसी, आर्थिक रुपले गतिशील र सम्मुन्नत प्रदेश’ रहेको जानकारी दिनुभयो ।