कोशी प्रदेश खेलकुद विकास बोर्डले दुई सय खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्ने

विराटनगर २९ असार । कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेशका दुई सय जना खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान एवं पुरस्कृत गर्ने भएको छ ।

बोर्डद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा भोली आईतबार अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियेगिता र १४ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त खेलाडी, सम्बन्धित खेलका प्रशिक्षक र व्यवस्थापकलाई नगद सहित सम्मान गरिने भएको छ ।

बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले आफुले नेतृत्व पाएको दुई महिनाको छोटो अवधिमा १० वटा प्रदेशस्तरीय खेलकुद विभिन्न जिल्लामा सम्पन्न गरेको जानकारी दिनु भयो । उहाँले आगामी वर्ष खेलकुदको बार्षिक क्यालेण्डर अनुसार नियमित खेलकुद प्रतियोगिता गर्नुका साथै ३० वटा खेलकुद प्रतियोगिता प्रदेशका विभिन्न जिल्लामा सम्पन्न गर्ने प्रविद्धता समेत व्यक्त्त गर्नु भयो ।

यस वर्ष छोटो समयमा खेलकुद विकास बोर्डले धेरै प्रतियोगितामा सञ्चालन गर्न बाध्य भएको बताउँदै उहाँले आगामी वर्षदेखि वार्षिक क्यालेन्डर बनाएर प्रदेशमा खेलकुदका गतिविधि अगाडी बढाइने जानकारी दिनुभयो ।

जिल्ला खेलकुद विकास समितिहरुमा आवश्यक खेल प्रशिक्षकहरुको व्यवस्था गरेर प्रदेशमा खेलाडी उत्पादनलाई प्राथमिकतामा राखेर बोर्डले काम गर्ने सचिव बस्नेतको भनाइ छ । बस्नेतले विराटनगर १९ मा रहेको वैजनाथपुर रंगशालालाई केन्द्रसँग समन्वय गरेर प्रदेश सरकारको मातहतमा ल्याउन र निर्माण कार्य सम्पन्न गर्न पहल गर्ने बताउनुभयो ।

आगामी वर्षदेखि खेलाडीको उत्पादन गर्न ग्रासरुट कार्यक्रमलाई प्राथमिकतामा राखेर नियमित प्रतियोगिता सञ्चालन गर्ने र विद्यालयस्तरीय खेलकुद प्रतियोगितालाई पनि विशेष जोड दिने सदस्यसचिव बस्नेतको भनाइ छ ।