विराटनगर, जेठ १५। माध्यमिक शिक्षा कक्षा ११ र १२ दुबैको कोर्षमा जोलोजी विषयमा विषयवस्तुको चयन नमिलेको र परीक्षा पद्धतिमा वैज्ञानिकता नभएको सम्बन्धित विषयका विज्ञहरुले बताएका छन् ।
विराटनगरमा मङ्गलबार नेपालजोलोजिकल सोसाइटी(नेजोस) कोशी प्रदेश समिति र डिग्री क्याम्पसले संयुक्त रुपमा आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा सहभागी विज्ञहरुले त्यस्तो बताएकाहुन् । प्राडा दामोदर थापाले कक्षा ११ र १२ को कोर्ष कसले निर्माण गरेका हुन्, विषयवस्तु कसले छनौट गरेका हुन् हेर्दा लाजलाग्ने बताउनु भयो । उहाँले भन्नुभयो– विषयवस्तुको तारतारम्य मिलेको छैन, जोलोजीविषयलाई हेपिएको छ, नाम जोलोजी दिइएको छ तर त्यसभित्रका विषयवस्तु जोलोजी भन्न नसुहाउने राखिएको छ । उहाँले सुझाव दिनुभयो–यसलाई तत्काल परिमार्जन गर्नुका साथै ऐच्छिक विषयको रुपमा रहेको जोलोजीको पूरा विषय बायोलोजीलाई अनिवार्य गरिनुपर्छ । डा भरतराज सुब्बाले जोलोजी विषयको महत्व दिनानुदिन बढिरहेको छ तर सरकारी तवरबाट यो कुरा बुझ्न नसकी उपेक्षा भइरहेको बताउनु भयो । जबसम्म कोर्षमा जैविक विविधतालाई जोड दिइँदैन त्यो बायोलोजी विषय हुन नसक्ने उहाँले ठोकुवागर्नु भयो ।
कार्यक्रममा राष्ट्रिय परीक्षाबोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय विराटनगरका निर्देशक जीवन गड्तौलाले एउटा प्रणालीलाई अनुसरण गर्दै कोर्ष निर्माण गरिएको गर्ने, विषयवस्तुहरु पाठ्यक्रमको उद्देश्य हेरेर विज्ञले नै छनौट गर्नेे र पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गर्ने हो– भन्नुभयो । विषयमा राखिएका पाठ्यवस्तुकाबारेमा केन्द्रले अभिमुखीकरण गर्नुपर्ने र समस्या औँल्याइन्छ भने सुुधार गर्नुपर्ने पनिनिर्देशक गड्तौलाले बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेजोसका उपाध्यक्ष विकास खनालले बायोलोजी विषय नै धराशयी बन्दै गएको भन्दै चिन्ताव्यक्त गर्नुभयो । सञ्जु दाहालले अन्य कुनै देशको कोर्षलाई सारेर नेपालको कोर्ष बनाइएकोले पाठ्यवस्तु अति नै अमिल्दाभएको बताउनुभयो ।
अक्लेश साहले शिक्षण शैली जुन तोकिएको छ त्यसले मूल्यांकन प्रणालीलाई चुनौतीदिने किसिमको भएको बताउनुभयो । सो अन्तरसम्वादमा कार्यपत्र प्रस्तुतगर्दै सोमप्रसाद निरौलाले कोर्षमा सैद्धान्तिक र प्रयोगात्मक पाठ्यवस्तुमा मेल नखाएको, टिचिङ आवरमा ख्याल नगरिएको, जोलोजीले सबै जीवजन्तु र तिनको बासस्थानको अध्ययनगर्ने हो तर जोलोजीको अर्थअनुसारको कोर्ष चयन नभएको ठहर गर्नुभयो । साथै उहाँले विद्यार्थीको मूल्यांकन पद्धति अति नै अव्यवहारिक भएको र यसले विद्यार्थीलाई अन्यायगरिरहेको बताउनुभयो ।
अन्तरसम्वादमा आएका सुझावहरुलाई उपल्ला जवाफदेही निकायहरुमा पुर्याई जोलोजी विषयलाई पूर्ण बनाउन पहलगरिने नेजोस कोशीका अध्यक्ष शालीग्राम अधिकारीले बताउनुभयो । डिग्री क्याम्पसका सहायक प्रमुख मिलन खरेलले जोलोजी विषयको उन्नयनका लागि सरकार र विश्वविद्यालले कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
सो कार्यक्रममा जोलोजिष्ट (प्राणीविज्ञ)हरुको क्षमताविकास गर्नका लागि वैज्ञानिक लेखन र प्रकाशन सम्बन्धीतालिम पनिदिइएको थियो । उक्ततालिममा प्राडा शिवकुमार राई र सहप्राडा कुलप्रसाद लिम्बूले सहजीकरण गर्नुभएको थियो ।
नेपाल जोलोजिकल सोसाइटी जोलोजी विषयमा एमएस्सी शैक्षिक योग्यता भएका प्राणी वैज्ञानिकहरुको संस्था भएको र कोशीप्रदेशमा करिब एक सय जना यसको सदस्य रहेको नेजासका महासचिव रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा डिग्री क्याम्पसकाप्रमुख ढकबहादुर मगरको समेत उपस्थिति थियो ।