विराटनगर २० वैशाख । चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता वैशाख २२ देखि शुरु हुँदैछ । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजनामा प्रतियोगिता जेठ ५ गतेसम्म चल्ने छ ।
संगठनले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर विराटनगर, भैरहवा र काठमाडौंमा नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता सञ्चालन हुने मुख्य संयोजक गोपाल अग्रवालले बताउनुभयो । प्रतियोगितामा १४ टिमको सहभागिता रहनेछ ।
विराटनगर महानगरपालिकाको वडा १९ स्थित बैजनाथपुर क्रिकेट रंगशालामा ९ टिमले १६ वटा म्याच खेल्ने छ । भैरहवामा ५ टिमले १० वटा म्याच खेल्ने छ । लिग चरणमा खेलाइएको खेलको विजेताहरू मध्ये अंकको हिसाबले सर्वाधिक अंक प्राप्त गर्ने दुई दुई वटा टिम सेमिफाइनल खेलका लागि छनौट हुने छन् ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल काठमाडौंको मूलपानी स्थित क्रिकेट मैदानमा हुनेछ । २०८१ जेठ ४ गते सेमिफाइनल र जेठ ५ गते फाइनल खेल खेलाइने छ । प्रतियोगिताको विजेता टिमले ७१ हजार र उपविजेता टिमले ४१ हजार नगद सहित सिल्ड प्राप्त गर्ने छन् ।
नेपाल राष्ट्रिय मारवाडी युवा संगठन अन्तर्गत देशको विभिन्न भागमा बसोवास गरी रहेका २६ युवा मञ्चहरु मध्ये १५ मञ्चको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगितामा सहभागिता रहेको छ ।