विराटनगर १७ वैशाख । विद्युतीय सवारी साधनप्रती आकर्षण बढ्दै जाँदा अब नेपालमै सबै किसिमका चार पाङ्ग्रे सवारी साधन उत्पादन हुने भएको छ ।
एक वर्ष भित्र सबै किसिमका सवारी साधन उत्पादन गर्ने उद्देश्यका आज नेपालको कोशी एन के मोटर्स प्रा.लि. र चाईनाको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेड बिच सम्झौता भएको हो । चाईनाको फुजियन प्रान्तमा रहेको उक्त अटोबडी कम्पनीसँग स्थानीय ज्योतिष शास्त्र अनुसार बिहान १० बजेर १८ मिनेटमा सम्झौता पत्रमा दिपक्षीय हस्ताक्षर भएको हो । सम्झौतामा कोशी एन के मोटर्सका अध्यक्ष टीकाराम पुरी र स्यामनका तर्फबाट प्रबन्ध निर्देशक (एमडी) ले हस्ताक्षर गर्नुभयो ।
उक्त अवसरमा कोशी एनके का एमडी टीआर ढकालको समेत उपस्तिथि थियो । सम्झौता भएसँगै अब नेपालमा नै चाईनिज तथा कोरियन प्रविधिमा आधारीत चार पाङ्ग्रे विद्युतीय गाडी उत्पादन हुने भएको हो । नेपालमा पहिलो पटक मोरङको बुढीगंगामा १५ विघा क्षेत्रफलमा संचालनको तयारी गरिएको यस कम्पनीमा सुरूवाती चरणमा ३ अर्ब रूपैयाँको लागत रहने अध्यक्ष टिकाराम पुरीले बताउनुभयो । उहाँका अनुसार १ वर्ष भित्र सबै चार पाङ्ग्रे सवारीसाधन उत्पादन गर्ने छ ।
कम्पनीले नेपाली परिवेश र आवश्यकता अनुसार प्रत्येक महिना ७५० गाडी उत्पादन गर्ने छ ।