सुनसरीमा पाँच बुँदे सहमति, कफ्र्यू विस्तारै हट्ने

विराटनगर २४ चैत । सुनसरीको हरिनगर गाउँपालिकामा भएको दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति भएको छ । शनिबार बसेको सर्वदलीय सर्वपक्षीय बैठक पाँच बुँदे सहमति भएको हो ।

फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले स्थिति अशान्त बनेपछि शुक्रबार बेलुकाबाट सुनसरीको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कफ्र्यू आदेश जारी भएको थियो ।

शनिबारको सहमति पछि कफ्र्यू विस्तारै हट्ने सुनसरीका कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी दिनुभयो । बैठकमा दुवै पक्षले गरेका गतिविधि फिर्ता लिने, कफ्र्यूलाई सहज बनाउँदै लैजाने र हटाउने, झडपमा घाइते भएकाहरुको निशुल्क उपचार गर्ने र आवश्यकताका आधारमा छानविन आयोग गठन गर्ने सहमति भएको छ ।

समस्या सामधानका लागि प्रदेश सांसदहरुलाई जिम्मेवारी दिने पनि सहमति भएको छ । ‘अवश्यक भएमा छानविन आयोग गठन गर्ने निर्णय भएको छ’, फुयालले भने,‘कुन मोडालिटीमा बनाउने भन्ने ब्याख्या चाहिँ भएको छैन, आवश्यकता अनुसार बनाउने निर्णय भएको छ ।’ हरिनगर गाउँपालिका– १ भुटाहामा दुई समूहबीच भएको झडपले अवस्था तनावग्रस्त बनेपछि शुक्रबार बेलुकाबाट कफ्र्यू लागेको थियो । स्थीति नियन्त्रणमा लिन प्रहरीले ८० राउन्ड हवाई फायर र ३९ सेल अश्रु ग्यास प्रहार गरेको थियो । अनलाइन खवर