देवकुमारी थापा र बबरसिंह थापा सम्मानको घोषणा

विराटनगर २० चैत । बबरसिंह देवकुमारी थापा सेवा गुठी विराटनगरले दुई पुरस्कार तथा सम्मानको घोषणा गरेको छ । प्रत्येक वर्ष प्रदान गरिने देवकुमारी थापा स्मृति सम्मान २०८० हास्यव्यङ्ग्य निबन्धकार डा.रामकुमार पाँडेलाई प्रदान गरिने भएको छ ।

छ दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको हास्यव्यङ्ग्य विधामा दिएको योगदानका लागि साहित्यकार पाँंडेलाई उक्त पुरस्कार सम्मान प्रदान गरिने भएको हो । उहाँका ख्यालख्याल, सन्चै छ, मोज गर्नाेस्, बाबुको बिहे हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह साथै नेपाल जापान सम्बन्ध,नेपाल निर्माणको गौरव गाथा लगायत संस्कृति, भूगोल, लोकसाहित्य र बालसाहित्यका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छ्न् । यसैगरी दुई दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको कथा विधामा दिएको योगदानका लागि कथाकार रीता ताम्राकारलाई २०८० सालको बबरसिंह थापा स्मृति सम्मान तथा पुरस्कारबाट पुरस्कृत गरिने भएको छ । उनका, तुसारापात, दृश्य परिदृश्य, अनाम परिधि, संवेग कथासङ्ग्रह प्रकाशित छ्न् ।

पुरस्कार सम्मानको राशि क्रमशः एकाउन्न हजार र पचीस हजार रहेको छ । गुठीका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा बसेको गुठीको कार्य समितिको बैठकले उक्त पुरस्कार सम्मान दिने निर्णय गरेको हो ।

यसअघि उक्त पुरस्कारबाट साहित्यकारहरू इन्द्रबहादुर राई, मदनमणि दीक्षित ,सत्यमोहन जोशी, बालकृष्ण पोखरेल, दुर्गालाल श्रेष्ठ, बैरागी काँइला, चुडामणि बन्धु, तुलसी दिवस, मन्जुल, विन्ध्या सुब्बा, डा दयाराम सम्भव र बबरसिंह थापा स्मृति पुरस्कारबाट प्रा.डा रामबहादुर थापा, जनकमोहन अधिकारी, दीपक आलोक, कुन्ता शर्मा, गायत्री श्रेष्ठ, नवराज सुब्बा, धीरेन्द्र प्रेमर्षी, जयप्रसाद पाण्डे, प्रमोद प्रधान, मोमिला, लक्ष्मी उप्रेती, विमल वैद्य, बुलु मुकारुङ, विक्रमश्री, सुमन पोखरेल, कुशेश्वर राई लगायतका स्रष्टाहरु पुरस्कृत र सम्मानित भैसकेका छन् । सो पुरस्कार आगामी २०८१ साल बैशाख १५ गते शनिबार श्रीकृष्ण होटल विराटनगरमा समर्पण गरिने बताईएको छ ।