दोस्रो विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुललाई

विराटनगर २० फागुन । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा भएको दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि साविक उप विजेता सरस्वती स्कुलले जितेको छ ।

विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा सरस्वती स्कुलले आर्दश वालिका स्कुललाई ७२ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १६ ओभरमा ६ विकेट गुमाई १ सय ४३ रनको विहाल योगफल बनाएको छ । १ सय ४४ रनको विशाल लक्ष्य पछ्याएको आर्दश वालिकाले १५ दशमलव २ बलमा सवै विकेट गुमाई ६९ रनमा सिमित भयो । वालिकाका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् ।

प्रतियोगितामा प्लेयर अफ द सिरिज सरस्वतीकी कृतिसा धामी घोषित हुँदा उत्कृष्ट ब्याटर आर्दश वालिकाकी सकुन्तला सहनी र उत्कृष्ट बलरमा सरस्वतीकी चाँदनी यादव घोषित भइन् । विजयी खेलाडीहरुलाई नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठ, क्रिकेट विथ आउट वाउण्ड्रीका सार वेग, एड ल्याम्प, टिम निकल्स, सन विलियम्स र रचना राम चन्द लगायतले पुरस्कार तथा ट्रफि वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा विराटनगरका सामुदायिक स्कुल आर्दश, आर्दश वालिका, महेन्द्र, सरस्वती, सत्यनारायण र मिल्स स्कुलका महिला खेलाडीहरुले भाग लिएका थिए ।