विकास खर्चमा विराटनगर महानगरपालिका अब्बल

विराटनगर ८ फागुन । तीनै तहको सरकारले पुँजीगत अर्थात् विकास खर्च गर्न नसकेको भनेर आलोचना भइरहेका बेला विकास खर्च गर्ने महानगरपालिकामध्ये विराटनगर अगाडी देखिएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको ७ महिनामा मुलुकका ६ वटा महानगरपालिकामध्ये विराटनगर सबैभन्दा बढी विकास खर्च गर्ने दोस्रो नम्बरमा परेको छ । विराटनगरले विनियोजितको ३४.१५ प्रतिशत विकास खर्च गरेको छ ।

सबैभन्दा बढी विकास खर्च गर्ने वीरगञ्ज महानगरको ३४.३१ प्रतिशत छ । महानगरका १९ वटै वडामा भौतिक पूर्वाधार निर्माणको काम धमाधम भइरहेको विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले बताए । रानीपोखरी, मण्ठापोखरी, प्रधानमन्त्री पार्क, बाल उद्यान, सन्ध्याकालीन आरती स्थल, महानगरको प्रशासनिक भवन, बहुप्राविधिक विद्यालय, विराटनगर ५ र ६ स्थित विएफएम अगाडिको सडक, विराटनगर–१३ स्थित आँखा अस्पताल अगाडिको सडक, विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि रेल्वे हुँदै सिंघियासम्मको सडकसहित १ अर्ब १५ करोडभन्दा बढी विभिन्न योजनाहरू कार्यान्वयनको चरणमा रहेको प्रमुख कोइरालाको भनाइ छ । प्रमुख कोइरालाकै शब्दमा महानगरको प्रशासनिक भवनको हालसम्म ३५ प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ । करिब २२ करोड लागतको वीरेन्द्र सभागृह निर्माण सम्पन्न भई हस्तान्तरणको चरणमा पुगेको छ । विराट राजाको दरबार परिसरमा झण्डै १ करोड लागतमा पोखरी निर्माण भइसकेको छ । वडास्तरका साना विकासका योजना पनि धमाधम भइरहेको उनको भनाइ छ ।

विराटनगर महानगरपालिकाले पुँजीगत अर्थात् विकास खर्च १ अर्ब २६ करोड ८० लाख विनियोजन गरेकोमध्ये ३४.१५ प्रतिशत खर्च गरेको छ । वीरगञ्ज महानगरको पुँजीगत खर्च ३४.३१ प्रतिशत छ । वीरगञ्जले ७९ करोड २८ लाख विनियोजित बजेटमध्ये २७ करोड २० लाख रुपैयाँ मात्रै खर्चिएको छ । विभिन्न घटनाले सधैं चर्चा पाइरहने काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा कम विकास खर्च गरेको छ । काठमाडौं महानगरले विकास खर्च १४.११ प्रतिशत मात्रै गर्न सकेको छ । भरतपुरले विनियोजित पुँजीगत खर्चको करिब १८ प्रतिशत मात्रै खर्च गरेको छ । ललितपुर ३३ प्रतिशत गर्दा पोखरा महानगरपालिका २५ प्रतिशतमा सीमित छ । तीनै तहको सरकारले बजेट सार्वजनिक गर्दा विकास खर्च कार्यान्वयनमा जोड दिने बताउँदै आएका छन् । तर कार्यान्वयन पक्ष कमजोर हुँदा सधैं आर्थिक वर्षको अन्त्यमा हतारमा विकासका कार्य गर्ने प्रवृत्ति रहँदै आएको छ ।

विराटनगर महानगरमा वडाध्यक्षहरूको समन्वय र सक्रियता, कर्मचारी प्रशासनको जिम्मेवारितालगायतका कारणले विकास खर्चमा विराटनगर अब्बल देखिएको प्रमुख कोइरालाको भनाइ छ । विराटनगर महानगरको चालुतर्फको खर्च भने ४४.३१ प्रतिशत रहेको छ । चालु आवका लागि चालुतर्फ १ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ विनियोजन गरेकोमध्ये ६८ करोड ६२ लाख खर्च भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताउनुभयो ।