चौथो राष्ट्रिय लघुवित्त सम्मेलन : जीवन विकासलाई दश विधामा पुरस्कार

विराटनगर ७ फागुन । चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थागत उद्यमशीलता विकास तर्फ उत्कृष्ट घोषित हुँदै एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
फागुन ५ देखि ६ गतेसम्म सञ्चालित सम्मेलनमा मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकासले संस्थागत उद्यमशीलता विकास उत्कृष्ट घोषित हुँदै एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको   हो । सम्मेलनमा जीवन विकास लघुवित्त संस्था, लघुवित्तका कर्मचारी र सदस्यले मात्रै विभिन्न दश विधामा उत्कृष्ट हुँदै पुरस्कार पाएका छन् । संस्थागत उद्यमशीलता विकास तर्फ उत्कृष्ट घोषित भएको जीवन विकास लघुवित्त अति विपन्नको उत्थान गर्ने उत्कृष्ट संस्था पनि बन्यो ।

जीवन विकासले थ्रि जिरो ( शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्वन उत्सर्जन ) क्लब प्रवद्र्धन तर्फ पनि उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ । जीवन विकास लघुवित्तकी सदस्य जहदा गाउँपालिका– ४ मोरङकी किरणदेवी कोइरी उत्कृष्ट र उदाहरणीय कृषि कार्य गरे वापत पुरस्कृत भइन् । यो पुरस्कार कोइरीसहित अन्य नौं संस्थाका एक–एक जना सफल सदस्यले पनि पाएका छन् । उत्कृष्ट उद्यमी पुरस्कार जीवन विकासकी सदस्य नसिमा खातुनले प्राप्त गरिन् । विराटनगरकी खातुनले श्रीमान र छोरालाई उद्यमी बनाएकी छन् ।

अति विपन्नको उत्थान गर्ने उत्कृष्ट सहयोगी कर्मचारी पुरस्कार जीवन विकास लघुवित्त नदीताल सर्लाही शाखामा कार्यरत वरिष्ठ सहायक सन्तोषकुमार मण्डलले प्राप्त गरे । सो पुरस्कार चमेली बचत तथा ऋण सहकारी संस्थाका फिल्ड प्रबन्धक अर्जुन पासवानले पनि पाएका थिए । उद्यमशीलता विकासमा उत्कृष्ट र उदाहरणीय कार्य गरे वापत जीवन विकास लघुवित्त अमाहीवेल्हामा कार्यरत वरिष्ठ सहायक अन्तोषकुमार साहले पनि पुरस्कार प्राप्त गरेका छन् । यो विधामा उनीसहित पाँच जनाले पुरस्कार पाएका थिए ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाकी सदस्य गुलशन खातुनले उत्कृष्ट केन्द्र प्रमुखको पुरस्कार प्राप्त गरिन् । यो विधामा अन्य १० वटा संस्थाबाट एक–एक जनाले उत्कृष्ट केन्द्र प्रमुख पुरस्कार प्राप्त गरेका थिए । जीवन विकास लघुवित्तले थ्रि जिरो ( शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्वन उत्सर्जन ) क्लब प्रवद्र्धन तर्फ उत्कृष्ट र उदाहरणीय कार्य गरेबापतको पुरस्कार प्राप्त गरेको छ । यो पुरस्कार जीवन विकाससँगै चमेली बचत तथा ऋण सहकारी र किसान बहुद्देश्यीय सहकारी संस्थाले पनि प्राप्त गरेको छ ।