विराटनगर ६ फागुन । विराटनगर महानगरपालिकाले अन्तरविद्यालयस्तरीय विज्ञान प्रदर्शनी आयोजना गरेको छ ।
प्रदर्शनीको महानगरका प्रमुख नागेश कोइरालाले उद्घाटन गर्नुभयो । विराटनगरस्थित आदर्श माविमा आयोजित प्रदर्शनीमा विराटनगर क्षेत्रका ३५ वटा विद्यालयले सहभागिता जनाएका छन् । ९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थीमध्ये हरेक विद्यालयबाट १ जना छात्रासहित ५ जना विद्यार्थीले सहभागिता जनाएकाछन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीहरुमा प्रतिस्पर्धी क्षमताको विकाससँगै खोज र अनुसन्धानमा लाग्न थप प्रेरित गर्ने बताउनुभयो । महानगरपालिकाले प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखेको बताउँदै प्रमुख कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन भएको उल्लेख गर्नुभयो ।
प्रमुख कोइरालाले अन्तरीक्षसम्बन्धी खोज अनुसन्धानका लागि प्रदेशस्तरमा केन्द्र स्थापना हुनुपर्नेमा जोड दिनुभयो । हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले सामुदायिक विद्यालयको स्तरवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढे निजी विद्यालयलाई आपत्ति नहुने प्रस्ट पार्नुभयो । महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवाल, विराटनगर अध्यक्ष मोहन बुढाथोकी, हिसान मोरङ अध्यक्ष अमित ढकाल, महानगर शिक्षा समितिकी सदस्य सावित्री पराजुली, सन्तोष पोखरेल, पोखरिया माविका प्रअ खेमराज भट्टराईलगायतको उपस्थितिमा भएको उद्घाटन समारोहमा जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतम, शिक्षक महासंघ विराटनगरका अध्यक्ष वेदु खतिवडालगायतले महानगरले विज्ञान प्रदर्शनी गरेर महत्वपूर्ण कार्य गरेको बताउनुभयो ।
प्रदर्शनीमा प्रथमले १०, द्वितीयले ७, तृतीयले ५ र चौथो हुनेले ३ हजार पुरस्कारका साथमा शिल्ड, ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराईले जानकारी दिनुभयो ।