विराटनगर ५ फागुन । कोशी प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा १४ जना महिला स्वास्थ्य स्वंयसेविकालाई सम्मान गर्ने भएको छ । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न मापदण्ड पुरा गरेसंगै उत्कृष्ठ कार्य गरेकालाई चयन गरि प्रदेश सरकारले पुरस्कृत गर्न लागिएको हो ।
प्रदेश सरकारले चादीको सिक्कासहित स्वंयसेविकालाई आवश्यक पर्ने सामाग्री उपलब्ध गरि सम्मान गर्ने तयारी गरिएको छ । प्रदेश सरकारले ताप्लेजुंगबाट पम्फा राई, मोरंगबाट सोनीकुमारी चौधरी, झापाबाट दयावति राजवंशी, सुनसरीबाट तिलमाया खड्का, उदयपुरबाट दिलमाया मगर, ओखलढुंगाबाट निरकुमारी राणा, संखुवासभाबाट छिरिजम्बा भोटे, खोटांगबाट पुण्यकुमारी पौडेल, पाँचथरबाट यशोदा ढकाल, तेह्रथुमबाट गोमा भट्टराई, भोजपुरबाट सीता तामांग, इलामबाट ईश्वरा निरौला, सोलुखुम्बुबाट ल्हेमी शेर्पा र धनकुटाबाट खड्ककुमारी विश्वकर्मालाई पुरस्कृत गर्दैछ । कोशी प्रदेश सरकारले सामुदायिक महिला स्वास्थ्य स्वंयसेविकालाई सम्मान गर्ने भएसंगै ताप्लेजुङको सिंरिजंघा गाँउपालिकाकी पम्फा राई उत्साहित हुनु भएको छ ।
२०५४ सालबाट स्वंयसेविकाको रुपमा कार्यगर्दै आएको उहाँले बताउनुभयो । विराटनगरकी सोनीकुमारी चौधरीले प्रदेश सरकारले कामको मुल्यांकन गर्दै सम्मान गर्ने भनेपछि उत्साहित भएको बताउनुभयो । प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारले समुदायमा कार्यरत महिला स्वास्थ्य स्वयंसेवीको मनोबल उच्च बनाउनका लागि सम्मान कार्यक्रम गर्न लागिएको मुख्यमन्त्री केदार कार्कीले बताउनुभयो । गर्भवती, सुत्केरी देखि शिशु हुकाउँञ्जेलसम्म स्वास्थ्यको विशेष हेरचाह गर्ने महिला स्वंयसेविकाप्रति उच्च सम्मान बनाउन आवश्यक भएको मुख्यमन्त्री कार्कीले भनाई छ ।
प्रदेश सरकारले कोशी प्रदेशका १४ वटै जिल्लाका एक÷एक जनालाई विराटनगरमा सम्मान गर्ने जनाएको छ । प्रदेश सरकारले स्वास्थ्य स्वंसेविकालाई नगद १५ हजार प्रमाण पत्र, चाँदीको सिक्काको लोगो, साडी, ब्याग, छाता टर्चलाइटलगायत सामग्री उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।