विराटनगर ५ फागुन । विराटनगरमा आजदेखि मदन स्मृति अन्तर वडा खुला कबड्डी प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी विराटनगर कमिटीको आयोजनामा सुरु भएको प्रतियोगिताको नेकपा एमाले पूर्व केन्द्रीय सदस्य विनोद ढकालले उद्घाटन गर्नुभयो ।
प्रतियोगितामा विराटनगरका विभिन्न १४ वटा वडाको सहभागिता रहेको छ । तीनदिने प्रतियोगिताको पहिलो दिन आज वडा नम्बर १४, १७ र ११ विजयी भएका छन् । वडा नम्बर १४ ले वडा नम्बर ७ लाई ९५ –२० को अंकले हराएको छ । वडा नम्बर १७ ले वडा नम्बर १ लाई ४४ – २४ अंकले हरायो । अर्काे खेलमा ११ नंले वडा नं. २ लाई पराजित गर्यो । वडा नम्बर ११ ले ९९ – २२ अंकले हराएको हो । विजयी तीन टोली सेमिफाइनमा प्रवेश गरेका छन् ।
विराटनगर महानगर कबड्डी संघका अध्यक्ष उपेन्द्र यादवले भोलि पनि पहिलो चरणकै बाँकी खेल हुने र सोमबार सेमिफाइनल र फाइनल खेल हुने जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद ३१ हजार र उपविजेताले नगद २१ हजार तथा शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक हमिद आजादले बताउनुभयो । यस्तै उदीयमान खेलाडी र सर्वाेत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँ पुरस्कार दिइने उहाँले जानकारी दिनुभयो ।