विराटनगर २० माघ । विराटनगर ९ को शिक्षादीप कलेजले सूचना प्रविधि (आईटी) लाई प्राथमिकता दिएर काम शुरु गरेको छ ।
आईटीको माध्यमबाट विद्यार्थीले आफ्नो जीवन राम्ररी विताउन सक्छ भन्ने देखेर विशेष प्राथमिकता दिएर कार्यक्रम शुरु गरिएको कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो,‘ एउटा विद्यार्थीले ल्यापटप लिएर वा कम्प्युटर लिएर आईटीमा एउटा ज्ञान लियो भने आफ्नो जिविकोपार्जन गर्न सक्छ भनेर सोचेरै आईटीलाई विशेष प्राथमिकता दिएर यो कार्यक्रम सञ्चालन गरेका छौं ।’
प्रतिष्ठित आईटी कम्पनी ‘कोड हिमालय’सँगको सहकार्यमा कलेजले एक साताको आईटी वर्कसप शनिबार सम्पन्न गरेको छ । आईटीका विद्यार्थी काम गर्दै पढ्न सक्ने बनाउने उद्देश्य सहित कलेजले शुरु गरेको कार्यक्रममा सहभागी विद्यार्थीले वेभसाईड बनाउन सक्ने भएको र यो शुरुवात मात्रै भएको सहजकर्ता तथा टेक्सपायर कलेजका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पोखरेलले बताउनुभयो ।
कम्प्युटर साईन्स अध्ययनरत कक्षा १२ का ४ सय विद्यार्थी सहभागी ७ दिने कार्यशालामा उनीहरुले साइबर सुरक्षा, एप्स, वेभ साइट निर्माण, सफ्वेयर तथा एआईका विषयमा राम्रो ज्ञान हासिल गरेको बताएका छन् । सूचना प्रविधिको क्षेत्रमा राम्रो अवसर देखर यो विषय रोजेको वर्कसपमा सहभागी विद्यार्थी जेनिशा पोखरेलको भनाई छ ।
कार्यशालामा काठमाण्डौंस्थित कोड हिमालय, टेक्सपायर कलेज, प्रशिक्षण लगायतका संस्थाका विज्ञ प्राविधिकहरुले सहजीकरण गरेका थिए । यसअघि शिक्षादीप कलेजले विज्ञान कार्यशाला गरेको थियो ।