विराटनगर १२ माघ । गैरसरकारी संस्था (गैसस) महासंघ मोरङको १९ औं साधारणसभा विहीबार विराटनगरमा सम्पन्न भएको छ ।
साधारणसभाको अवसरमा ५ वटा संस्थालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा पूर्वाञ्चल बालसेवा आश्रम, अम्बे–मुरारी सेवा केन्द्र, मानवअधिकारका लागि एकल महिला समूह मोरङ, नारी विकास संघ इटहरा र युवा विकास संस्था रहेको छ । विराटनगर महानगरका प्रमुख नागेश कोइरालासहित आयोजक गैसस मोरङकी अध्यक्ष विष्णु शर्मालगायतले सम्मान गर्नुभएको थियो ।
साधारणसभामा विराटनगर महानगरपालिकाका प्रमुख कोइरालाले समाजमा जागरण ल्याउन गैरसरकारी संस्थाहरुले भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । कोइरालाले समाजमा रहेका छुवाछुत, महिला हिंसा, लैंगिक विभेदलगायत समस्या न्यूनीकरणका लागि गैससहरुले उल्लेखनी कार्य गरिरहेको चर्चा गर्नुभयो । महानगरपालिकाले गर्नुपर्ने थुप्रै कामहरु गैससहरुले गरिरहेको प्रमुख कोइरालाको भनाई छ ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, गैससका केन्द्रीय अध्यक्ष राम सुवेदी, जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा, गैसस महासंघका उपमहासचिव उमेश विश्वकर्मा, प्रदेश अध्यक्ष लखनलाल साह, राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश प्रमुख पवन भट्टलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।