राष्ट्रियसभा निर्वाचन : कोशी प्रदेशमा मतदान जारी

विराटनगर ११ माघ । राष्ट्रियसभा सदस्यका लागि कोशी प्रदेशमा मतदान जारी छ ।

बिहीबार बिहान ९ बजेदेखि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा मतदान सुरु भएको हो । महिलातर्फ कांग्रेसकी प्रदेशसभा सदस्य लखीकुमारी गणेश र पुरुषतर्फ कांग्रेसकै हिमाल कार्कीले पहिलो मतदान गरेका थिए ।

मतदान दिउँसो ३ बजेसम्म हुनेछ । फागुन २० गतेबाट रिक्त हुन लागेका १९ पदका लागि आज मतदान भएको हो । एक पद भने राष्ट्रपतिबाट मनोनयन हुनेछ ।
निर्वाचनमा प्रदेश सभा सदस्य,गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेकामध्ये कोशीमा कुल ३६७ मतदाता छन् । मतदान सकिएलगत्तै आजै मतगणना सुरु हुनेछ ।

आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने आयोगको तयारी छ । सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्की उम्मेदवार छन् ।

कोशीमा गठबन्धनसँग प्रतिस्पर्धा गर्न नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीभित्र चुनावी तालमेल भएको छ । सिटौलाविरुद्ध राप्रपाका उद्धव पौडेल र कार्कीसँग नेकपा एमालेकी रुक्मिणी कोइराला प्रतिष्पर्धामा छन् ।