विराटनगर २३ पुस । कोशी प्रदेशमा २ सिटका लागी हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा ५ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन आज २ सिटमा ५ जनाको उम्मेदवारी दर्ता भएको हो । आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदान हुने छ । कोशी प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट ५ जनाको मनोनयन दर्ता भएको छ । महिला समूहमा एमालेका तर्फबाट रुक्मिणी कोइराला र अन्य समूहबाट पर्शुराम अधिकारी, सत्ता गठबन्धनबाट महिला समूहमा नेकपा माओवादी केन्द्रकी चम्पा कार्की र अन्य समूहमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र अन्य समूहमा राप्रपाबाट उद्धव पौडेलको उम्मेदवारी दर्ता भएको छ । राप्रपाले महिलामा उम्मेदवारी दर्ता गरेन ।
निर्वाचन कार्यक्रम अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुनेछ ।