राष्ट्रियसभा निर्वाचन : एमालेले छान्यो १९ उम्मेदवार, माओवादीमा पनि उम्मेदवार टुङ्गो लाग्यो

विराटनगर २२ पुस । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एमालेले सातै प्रदेशबाट उम्मेदवारको टुंगो लगाएको छ । निर्वाचन हुन लागेका १९ वटै सिटमा एमालेले उम्मेदवारी दिने भएको छ ।

महासचिव शंकर पोखरेलका अनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर) तथा मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी)लाई उम्मेदवार बनाउने निर्णय भएको छ । त्यस्तै, बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता–अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं) र दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ)लाई उम्मेदवार बनाएको छ ।

गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता–अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) तथा लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ) र अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा)लाई उम्मेदवार बनाएको छ । कर्णालीमा महिलातर्फ विमलाकुमारी शाही (हुम्ला), अन्यतर्फ डिल्लीप्रसाद भट्ट (मुगु), दलिततर्फ हिक्मत विक (दैलेख) र सुदूरपश्चिममा महिलातर्फ सावित्रादेवी घिमिरे (कैलाली), अन्यतर्फ ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता–अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली)लाई उम्मेदवार बनाएको छ ।

यसैवीच राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवारहरुको टुंगो लगाएको छ । आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीका पदाधिकारीहरुको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । नेताहरुका अनुसार कोशीमा चम्पादेवी कार्की, वाग्मतीमा श्रीकृष्णप्रसाद अधिकारी, गण्डकीमा मनरूपा शर्मा सुवेदी, लुम्बिनीमा झक्कुप्रसाद सुवेदी, कर्णालीमा विष्णु विक र सुदूरपश्चिममा रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

सरकारको नेतृत्व गरेको दल माओवादीले सत्ता गठबन्धनमा भागबण्डा गर्दा निर्वाचन हुन लागेका १९ मध्ये ६ सिट पाएको हो । आगामी फागुनमा पदावधि सकिनेमा माओवादी केन्द्रका ३ जना सांसद छन् ।