विराटनगर १२ पुस । मानव बेचविखन नियन्त्रणका लागि सामाजिक सञ्जालको प्रयोग बढाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । सूचना प्रविधिको प्रयोगबाट सचेतनामुलक कार्यक्रम गर्न आवस्यक रहेको उनीहरुको भनाई छ । परम्परागत शैलीभन्दा पनि प्रविधिको प्रयोगमा जोड दिन उनीहरुको सुझाव रहेको छ ।
माईती नेपाल विराटनगरले आज आयोजना गरेको मानव बेचविखन तथा ओसारपसार विरुद्ध नियन्त्रण विषयक कार्यक्रममा सहभागि सरोकारवालाहरुले सो सुझाव दिएका हुन । सामाजिक सञ्जालको प्रयोग गरि मानव वेचविखन नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम गर्न सके प्रभावकारी हुने उनीहरुको भनाई थियो । मानव वेचविखनका नयाँ नयाँ प्रबृत्तिहरु देखिएकाले परम्परागत शैली परिवर्तन आवस्यक भएको गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्मा आचार्यले बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोगका कोशी प्रदेश निर्देशक पवन भट्टले मानव वेचविखन नियन्त्रणका लागि सामाजिक सञ्जालको प्रयोग बढाउनुका साथै घर घरमा सचेतना पुर्याउन आवस्यक रहेको बताउनुभयो । उहाँले धेरै मानव वेचविखनका घटनाहरु धेरै परिवारबाटै हुने गरेको पाईएको बताउनुभयो ।
कार्यक्रममा माईती नेपालका मोरङ संयोजक विनोद पोखरेलले सन् २०२३ को जनवरी देखि आज सम्म मोरङबाट ५१ जना महिला तथा बालबालिकाको उद्धार गरिएको बताउनुभयो । उहाँका अनुसार सो अवधिमा देशभरका सीमा नाकाहरुबाट १५७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये सवै भन्दा बढी मोरङका भएको उहाँले बताउनुभयो । उहाँका अनुसार एक वर्षको अवधिमा उद्धार गरिएकाहरु मध्ये १८ वर्ष भन्दा माथिका ११० र १८ वर्ष भन्दा तलका ४७ जना छन् । माईती नेपालले पछिल्लो १४ वर्षमा सीमा नाका रानीबाट १ हजार ३२६ बालिकाको उद्धार गरेको छ । सो अवधिमा ५९२ जना बालिका हराईरहेको कार्यक्रम संयोजक पोखरेलले बताउनुभयो । उहाँका अनुसार हराएका मध्ये ८७ जना फेला पारिएको छ ।
पछिल्लो समय मानव बेचविखनमा नयाँ–नयाँ प्रबृत्तिहरु देखा पर्न थालेको माईती नेपालकी काउन्सीलर गीताञ्जली शर्माले बताउनुभयो । अन्र्तक्रिया कार्यक्रममा कानुन व्यवसायी, प्रहरी, अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।