तोडफोड तथा आगजनी भएको सिडियो कार्यालयको महासंघको अगुवाईमा सरसफाइ

विराटनगर २८ भदौ । जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भएको जिल्ला प्रशासन कार्यालय मोरङको पत्रकार महासंघको अगुवाईमा आज विहान सरसफाइ गरिएको छ ।

शनिबार विहान नेपाल पत्रकार महासंघ मोरङका पदाधिकारी, सदस्यहरु तथा पत्रकार महासंघ कोशी प्रदेशका पदाधिकारीहरुको सहभागितामा सरसफाई गरिएको थियो । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनीकारीहरुले आगजनी र तोडफोड गर्दा जिल्ला प्रशासन कार्यालय क्षतिग्रस्त भएको छ ।

पत्रकारसँगै स्वास्थ्य र शान्तिका लागि बाताबरण नेपालले पनि सरसफाईमा सहयोग गरेको थियो । सो संस्थाले विराटनगरका क्षतिग्रस्त स्थानमा अहिले दैनिक सफाई गर्दै आएको संस्थाका व्यवस्थापक एकराज खनालले बताउनुभयो । करिव दुई दर्जन पत्रकारहरुको सहभागितामा प्रशासन कार्यालयको बाहिरी भागको सरसफाई गरिएको पत्रकार महासंघ मोरङ अध्यक्ष सुशिला पाठकले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले आईतबार अस्थाई संरचनाबाट प्रशासनिक काम अघि बढाउने तयारी गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।