विराटनगर ११ पुस । श्रम संसार सूचना प्रणालीलाई कोशी प्रदेशका १३७ वटै स्थानीय तहमा पुर्याउने लक्ष्य सहित आज विराटनगरमा शुभारम्भ गरिएको छ ।
रोजगारदाता र रोजगारी खोज्दै आएकाहरूलाई सहज बनाउने गरी श्रम संसार सूचना प्रणालीको विकास गरिएको हो । स्विस कन्ट्याक्ट र आसमान नेपालसँगको सहकार्यमा कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री केदार कार्कीले श्रम संसारको शुभारम्भ गर्नुभयो ।
श्रम संसार सूचना प्रणाली अहिले कोशी प्रदेशका तीनवटा स्थानीय तहमा सञ्चालित छ । ‘स्टेप अप’ परियोजना अन्र्तगत सो प्रणाली विराटनगर महानगरपालिका, सुनसरीका इटहरी उपमहानगरपालिका र दुहवी नगरपालिकामा अहिले सञ्चालनमा रहेको हो ।
सुनसरी–मोरङ औद्योगिक कोरिडोर रहेको ३ पालिकाबाट सुरु भएको यो कार्यक्रम आगामी दिनमा कोशी प्रदेशका १३७ पालिकामा नै पुर्याउने योजना रहेको स्विस कन्ट्याक्ट कार्यक्रम अधिकृत सागर चापागाईँले जानकारी दिनुभयो । तीनवटा स्थानीय तहमा हालसम्म ३ हजार ४ सय बढी संस्था तथा व्यक्ती दर्ता भएका छन् । तीन सय बढीले रोजगारीका लागि आवेदन दिँदा ३१ जनाले रोजगारी प्राप्त गरिसकेको सोही अवसरमा जानकारी दिनुभयो । एप्सबाट बेरोजगार युवाहरूलाई रोजगारीमा समेट्नका साथै स्थानीय स्तरमा हुने तालिमका बारेमा पनि जानकारी प्राप्त गर्न सकिने विश्वास लिइएको स्विस कन्ट्याक्टका कन्ट्री डाइरेक्टर सञ्जय कार्कीले जानकारी दिनुभयो ।
कोशीका मुख्यमन्त्री कार्कीले श्रमको सम्मान गर्न सके मात्र देशको विकास हुने बताउनुभयो । श्रम बजार सूचना प्रणाली श्रम संचारको सुरुवात गर्दै मुख्यमन्त्री कार्कीले श्रममा ठुलो सानो नहुने बताउनुभयो । सोही अवसरमा एपलाई व्यवस्थित गर्ने बारेमा कोशी प्रदेश सरकार, स्विस कन्ट्याक्ट र आसमान नेपालका बिच त्रिपक्षीय हस्ताक्षर भएको छ ।
…………………………