सुशासन र सामाजिक न्याय तथा समृद्धिका लागि गरेका कार्य सफल भएको प्रधानमन्त्री दाहालको दावी

विराटनगर ५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड)ले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि गरेका कार्य सफल भएको दावी गर्नु भएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले मुलुकको वर्तमान अप्ठ्यारो एवं जटिल परिस्थितिमा समेत सरकारले गरेको कार्य ऐतिहासिक रहेको चर्चा गर्नु भयो । प्रधानमन्त्री दाहालले सरकारले मिटर व्याज, नागरिकता समस्या समाधान ,सामाजिक न्याय जस्ता कार्य हल गरेको जानकारी दिँदै भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा गरिएको कारवाही नेपालको इतिहास यो तहको कारवाही ऐतिहासिक भएको बताउनु भयो । उहाँले भू–माफिया ,तस्करीका विरुद्धको कारवाही र अन्तरििष्ट्रय सम्बन्ध स्थापित गर्न सरकार पूर्णरुपमा सफल भएको दावी पनि गर्नु भयो ।

प्रधानमन्त्री दाहालले एनसेलका सम्वन्धमा प्रयाप्त तथ्य, प्रमाण र तथ्याङक राज्य व्यवस्था समितिको वैठकमा पेश भैसकेको भन्दै नेपालको संविधान अनुसार राष्ट्र र जनताको पक्षमा वाहेक कोही कसैलाई वाहिर जान नदिने दृढता व्यक्त्त गर्नु भयो । उहाँले पार्टीको नामका सम्वन्धमा सोधिएको एक प्रश्नको जवाफमा पार्टीको नाम समाजवादको भाव आउन सक्ने किसिमको नामका विषयमा छलफल भइरहेको जानकारी दिनु भयो ।

प्रधानमन्त्री दाहालले कोशी प्रदेशको नामको विषयमा भएको असहमती पक्षसँग सम्वाद गरेर आपसी छलफल एवं सहमती गरेर टुङ्गो लगाउनु पर्छ भन्नु भयो । उहाँले प्रदेशको नामको विषयमा अतिवाद नभएर सहज प्रकियाबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिनु भयो ।

प्रधानमन्त्री दाहालले मन्त्री सुदन किँरातीले धार्मिक विषयमा आज व्यक्त गर्नु भएका विचार गम्भिर रुपमा लिएको यस विषयमा मन्त्रीसँग छलफल गरि निर्णय लिने बताउनु भयो । उहाँले विगत एक बर्षमा सरकारले गरेका कामको समीक्षा गर्न मन्त्रिहरुसँग प्रगति समीक्षा भइरहेको र आज छ बटा मन्त्रालयका छलफल भएकोले यसवाहेक अन्यथा केही नभएको प्रष्ट पार्नु भयो ।

प्रधानमन्त्री दाहालले विकास निर्माण तथा जनताको काम गर्नका लागि नयाँ ढङ्गबाट सरकार जाने बताउँदै यस सम्वन्धमा मन्त्रीहरुलाई लक्ष्य दिने र लक्ष्य सम्पन्न नभएमा सोही अनुसार निर्णय गरिने बताउनु भयो ।
……………………