विराटनगर २६ मंसिर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले वन ऐन कार्यविधि बनाई २८ प्रजातिका काठ विक्रीका लागि खुल्ला गर्ने बताउनु भएको छ ।
नेपाल वन पैदावार उद्योग व्यवसायी सङ्घ मोरङको आज विराटनगरमा आयोजित १६ औं अधिवेशन तथा बार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले व्यवसायीहरुलाई परेको समस्या समाधान गर्न मन्त्रालय सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । मन्त्री उप्रेतीले चाँडै मन्त्रिपरिषदबाट निर्णय गराई व्यवसायीक उद्देश्यले वन जङ्गल भित्र सडेगलेको, ढलेको काठ निकाल्ने व्यवस्था गर्ने जानकारी दिनु भयो ।
मन्त्रालयका सचिव विशाल घिमिरेले समृद्धिको आधार बन क्षेत्र भएकोले वन पैदावरको उपादकत्वकमा विविधकरण गर्न व्यवसायीहरुलाई सरकारले सहयोग गर्ने विचार व्यक्त्त गर्नु भयो ।
सङ्घका अध्यक्ष बिजयकुमार कार्की, ,उपाध्यक्ष डिल्लीराम तिम्सिना,पूर्व अध्यक्ष दिनेश सुवेदी, केन्द्रीय सदस्य नारायणकुमार श्रेष्ठ,डिभिजन बन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरे लगायतले सरकारी कार्यालयमा कडा प्रजातिका काठको प्रयोग अनिवार्य गर्न र निजी क्षेत्रले वन संरक्षणमा उत्तरदायी भूमिका निभाउनु पर्ने सुझाव दिनु भयो ।
सो अवसरमा मन्त्री उप्रेतीले सङ्घका पूर्व सदस्य खगेन्द्रप्रसाद गौतमलाई सम्मान गर्नु भएको थियो । सङ्घले नयाँ नेतृत्व चयन गर्ने छ ।