विराटनगर १२ मंसिर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले स्थानीय तहले प्रत्येक वर्ष विकासको मार्गचित्र सार्वजनिक गर्नु पर्ने बताउनु भएको छ ।
सामान्य प्रशासन मन्त्रालय र कोशी प्रदेश मुख्यमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयद्वारा आज विराटनगरमा आयोजित स्थानीय तहहरुको असल अभ्यास आदान प्रदान विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले वर्तमान आधुनिक समयमा प्रविधिको प्रयोग गरि जनताको विकासको चाहनालाई परिपूर्ति गर्ने योजना ल्याउनु पर्ने सुझाव दिनु भयो । मन्त्री देवीले स्थानीय तहलाई नमूनाको रुपमा विकास गरेमा सङ्घीय तथा प्रदेश सरकारको साथ र सहयोग सदैव रहने समेत बताउनु भयो । उहाँले स्थानीय तहलाई घर मजवुत बनाउन प्रयोग गरिने माटो खम्वा जस्तै बनाएर लैजानु पर्नेमा जोड दिदै यसले गर्ने काम कारवाहीबाट सुशासन , भ्रष्टाचार नियन्त्रण गरि असल अभ्यासको रुपमा प्रयोग गर्न आग्रह गर्नु भयो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मानवीय विकास नै दिगो हुनाले प्रदेश सरकारले मानवीय विकासका लागि प्रतिस्थापन बजेटमा रकम छुट्याएको जानकारी दिनु भयो । उहाँले विपदवाट वचाएर भौतिक विकास गरेमा मात्र परिणाम आउने धारणा राख्नु भयो । मुख्यमन्त्री कार्कीले जनताको ठूलो त्याग र बलिदान प्राप्त सङ्घीयतालाई कार्यान्वयन गर्ने वाटोमा हामीसबै लाग्नु पर्नेमा जोड दिनु भयो । उहाँले स्थानीय तहले सङ्घीय सरकारवाट प्राप्त हुने साझा अधिकारीको सुची माग्नु पर्नेमा जोड दिनु भयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सङ्घीय सरकारबाट यस क्षेत्रको वजेट वितरणमा भेदभाव भएको गुनासो व्यक्त्त गर्नु भयो । कोशी प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्ले र मन्त्रालयका सहसचिव रामकुमार महतोले तीन तहका सरकार वीच संस्थागत विकास गर्नुपर्ने विचार राख्नु भयो ।
दुई दिने अन्तरक्रियामा स्थानीय तहसम्म नागरिकको सहज पहुँच पुर्याउन, सुशासन कायम गर्न र स्थानीय सरकारलाई क्रियाशिल बनाउन अन्तरक्रियाको मुख्य उद्देश्य रहेको छ । कार्यक्रममा प्रदेशका १४ जिल्लाका स्थानीय तहका प्रमुखहरुहरुको उपस्थिति रहेको छ ।