आज भाईटिका, उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा

विराटनगर २९ कात्तिक । आज यमपञ्चक अर्थात तिहारको पाँचौँ दिन । भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाईटिकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको जनाएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि विहान १० बजेर ५१ मिनेटको समय उत्तम छ ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको समितिले जनाएको छ । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर विहानै खुल्ने भएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्दछ । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

यस वर्ष तिहार कात्तिक २५ गतेबाट सुरु भएको थियो । २५ गते काग तिहार मनाईएको थियो । २६ गते लक्ष्मी पुजा, २७ गते गाई तिहार र २८ गते गोवर्धन पुजा गरिएको थियो ।