एमालेले मंसिर १४ देखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने

विराटनगर २२ कात्तिक । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने भएको छ । नेकपा एमालेको मुख्यालयमा बुधबार बसेको सचिवालय बैठकले आगामी मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने जानकारी दिएको हो । यो अभियान ३ हप्ता चल्ने छ ।

अभियानलाई ‘समृद्धिका लागि महाअभियान’ भनेको छ । एमालेले पहाडलाई प्राथमिकतामा राखेर पहिलेदेखि नै विकासका काम गर्दै आएको पनि दाबी गरेको छ । यसैवीच नेकपा एमालेका ६ जना केन्द्रीय सदस्यको पद रिक्त भएको छ । पार्टी विधानको व्यवस्था अनुसार, प्रदेश अधिवेशनमा उम्मेदवार बनेका केन्द्रीय सदस्यहरुको पद रिक्त भएको हो । पद रिक्त भएको जानकारी बुधबार बसेको सचिवालय बैठकमा दिइएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

प्रदेश अध्यक्षको उम्मेदवार बनेकाले गुलाबजगं शाह, कैलाश ढुंगेल, हरि रिजाल, मायानाथ अधिकारी, कृष्णप्रसाद दाहाल र विनोद ढकालको पद रिक्त भएको हो । शाह कर्णाली र ढुंगेल बागमती प्रदेशको अध्यक्ष निर्वाचित भएका छन् । तर रिजाल, अधिकारी, दाहाल र ढकाल प्रदेश अध्यक्षमा पराजित भएका थिए । रिजाल लुम्बिनी, अधिकारी गण्डकी, दाहाल वागमती र ढकाल कोशी प्रदेश अध्यक्षको उम्मेदवार बनेका थिए ।