विराटनगर, ४ वैशाख । प्रदेश नं १ का कृषिमन्त्री झलकबहादुर मगरले कृषि तथा पशुजन्य पदार्थको समग्र विकास गरी मुलुकमा दिगो अर्थतन्त्र कार्यम गर्न सहयोग गर्ने बताउनु भएको छ ।
नेपाल पाराभेटेरिनरी एण्ड लाइभष्टक एशोसिएशनको आज विराटनगरमा आयोजित प्रदेश स्तरीय भेलाको आज उद्घाटन गर्दै उहाँले सरकारले कृषिलाई व्यवसायिककरण गरी कृषि तथा पशुजन्य वस्तका उत्पादन वृद्धि गरी आयात निरुत्साहित र निर्यातमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
एशोसिएशनका केन्द्रीय अध्यक्ष रामप्रसाद मेहताले कृषि र पशुपालन क्षेत्रमा ६० प्रतिशत जनता आवद्ध भएकोले यसपेशालाई सम्मानजनक बनाउन सरकारले आवश्यक बजेटको विनियोजना गर्नुपर्नेमा जोड दिनु भयो ।
एशोसिएशनका प्रदेश संयोजक योगेन्द्रलाल यादव,मन्त्रालयकी डा.दिपा दियाली,प्रदेश अध्यक्ष डा संजय यादव,पशुपंछी व्यवसायी सङ्घका प्रदेश अध्यक्ष अशोक सुवेदी , मधेश संयोजक परमेश्वर यादव लगायतले यस क्षेत्रले मुलुकको गाहस्थ उत्पादनमा एक तिहाई योगदान दिएको बताउनु भयो ।
भेलामा प्रदेशका १४ जिल्लाका दुई सय जना प्राविधिकहरुको सहभागिता रहेको छ । भेलाले कृषि तथा पशुपंछी क्षेत्रको उत्पादनमा वृद्धि गर्न आवश्यक रणनीति तयार गर्ने जनाइएको छ ।