कोशी प्रदेश सरकारमा अहिले सहभागी दलले निरन्तरता पाउने : नेता डा कोइराला

विराटनगर ४ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार काकीको नाम पार्टीका केन्द्रीय सभापतिसँग पटक पटक छलफलका आधारमा निर्णय भएको बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले कोशी प्रदेशको परिस्थित भिन्न रहेको एवं जनतामा रहेको दुविधा अन्त्य गर्नु पर्ने आवश्यक्त्ताले कार्कीको नेतृत्वमा प्रदेश सरकार निर्माण गरिएको प्रष्ट पार्नु भयो । नेता कोइरालाले प्रदेश सरकार निर्माणले सङ्घीय र बागमतीको सरकारलाई कुनै असर नपार्ने बताउनु भयो । कोशी प्रदेश सरकारमा अहिले सहभागी दलले निरन्तरता पाउने बताउँदै तिहार अगाडि सरकारको आवश्यक्त्ता अनुसार विस्तार हुने उहाँले धारणा राख्नु भयो ।

नेता कोइरालाले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार संविधानमा नराख्नु ठूलो गल्ती भएको बताउनु भयो । उहाँले आफु प्रधानमन्त्री बन्नका लागि अहिले आवश्यक संसद सदस्य सङख्या अपुग रहेको र समय आएपछि सङ्घीय सरकारको नेतृत्व परिवर्तन हुन सक्ने छ विचार राख्नु भयो ।