सरकारको प्राथमिकता पर्यटन,जलविद्युत र निजी क्षेत्र : मुख्यमन्त्री थापा

विराटनगर २ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पर्यटन, निजी क्षेत्र र जलविद्युतलाई सरकारले मुख्य प्राथमिकतामा राखेको बताउनु भएको छ ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स( नाट्टा) कोशी प्रदेशको ११ औ वार्षिक साधारण सभा तथा सातौ वार्षिक अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रदेशमा २० हजार भन्दा वढी मेघावाट विद्युत उत्पादन हुने नदी एवं खोलाबाट खेर गैरहेकोले भारत र बङ्गलादेशलाई विक्रीबाट सङ्घ र प्रदेशमा समृद्धि कायम हुनाले प्राथमिकतामा राखेको स्पष्ट पार्नु भयो ।

मुख्यमन्त्री थापाले निजी क्षेत्र हातमा रकम वोकेर जलविद्युतमा लगानी गर्न तयार रहेका छन् भन्दै आवश्यक कानून निर्माण गरी निजी क्षेत्रलाई यसक्षेत्रमा लगानी गर्न प्रोत्साहनबाट प्रदेशको राजश्व संकलनमा वृद्धि भई समुन्नत प्रदेश निर्माण हुने विचार राख्नु भयो । उहाँले निजी क्षेत्रको सहयोगमा यस क्षेत्रमा रहेको विश्वको अग्लो हिमाल सगरमाथा र सबैभन्दा होचो स्थान कचनकवललाई आवश्यक प्रचार प्रसार एवं पूर्वाधार विकास गरी वाह्य पर्यटकलाई आकर्षण गरी विदेशी मुद्रा आर्जन गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले निजी क्षेत्रलाई प्रोत्साहनत गरी यस क्षेत्रको पर्यटन क्षेत्रको विकासमा सरकारको जोड रहेको बताउनु भयो ।

मुख्यमन्त्री थापाले प्रदेश सरकार अदालत धाउनु पर्ने कारण अघिल्लो प्रदेश सभामा साउन १० गते भित्र प्रदेश कानून संशोधन गर्ने प्रस्ताव वदर भएकोले कानूनको व्यवधानका कारण सोचे अनुसार सरकार सञ्चालन हुन नसकेको बताउनु भयो । नाट्टाका प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठ र बरिष्ट उपाध्यक्ष पुण्य भट्टराईले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्र सरकारलाई सदैव साथ सहयोग दिने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।