विराटनगर १४ साउन । विराटनगर महानगरपालिकाले डेङ्गी रोग नियन्त्रणका लागि अभियान शुरुवात गरेको छ ।
अभियान अन्र्तगत वडा कार्यालयले आज खोज र नष्ट कार्यक्रम सम्वन्धि अभिमुखीकरण गरेको छ । डेङ्गी रोग नियन्त्रणका लागि वडा कार्यालयको नेतृत्वमा विद्यालय, टोल संगठन, सहकारी संस्थाका शेयर सदस्यहरु मार्फत अभियानलाई घर–घरमा पुर्याइने भएको छ ।
डेङ्गी रोगको सम्भावित महामारीको तयारी रोकथाम तथा नियन्त्रण, खोज र नष्ट अभियान अन्र्तगत टोल संगठनका प्रतिनिधि, सहकारी संस्थाका प्रतिनिधिहरु, सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधि, वडाका सरोकारवाला व्यक्तिहरु, महिला स्वयंसेविका, स्वास्थ्यकर्मीहरुका लागि आज एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलि र वडाका स्वास्थ्यकर्मीहरुले डेङ्गी रोग र यसका रोकथामका उपायहरुबारे सचेतना दिनु भएको थियो ।
विराटनगर ८ का विद्यालयहरुमा सचेतना कार्यक्रम सञ्चालन तथा टोल संगठनहरुसँग समन्वय गरी टोल–टोलमा डेङ्गी खोज तथा नष्ट अभियान सञ्चालन गरिने वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार विराटनगर ८ मा हालसम्म डेङ्गी रोगबाट कुनैपनि व्यक्ति संक्रमित भएका छैनन् ।