मोरङको लोहन्द्राखोलामा निर्माण गरिएको पुल सञ्चालन

विराटनगर, ९ साउन । मोरङको लोहन्द्राखोलामा निर्माण सम्पन्न गरिएको पुल आज देखि सञ्चालन भएको छ ।

सुनसरी–मोरङ सिँचाई आयोजना विराटनगरको चतरामूल नहरको ४१ किमी स्थित सो नहरको साइफन र पुल २०७४ सालको बाढीले बगाएको थियो । बाढीले पुल बगाएको पछि सो देखि पूर्वतर्फको १० हजार हेक्टर जग्गामा नहरको पानी पुग्न सकेको थिएन भने यातायातका लागि महत्वपूर्ण मानिएको सो पुलका सवारी आवागमनमा समस्या भएको थियो । साइफन र पुलसँगसँगै निर्माण गर्न सुनसरी मोरङ सिँचाई आयोजनाले तत्काल निमेष आशिष स्वामी नारायण आर्शिवाद जेभीलाई रु.३४ करोड २४ लाखमा ठेक्का लगाई शुरु भएको निर्माणको काम साइफन दुई वर्ष अघि नै निर्माण कार्य सम्पत्र भइ पुल ठेक्का अवधिको अढाई महिना पहिले नै निर्माण कार्य सम्पत्र गरी आज उद्घाटन भएको हो ।

पुलको लम्बाई १५३ दशमलव ३० मिटर र चौडाई साढेसात मिटर तथा साइफनको लम्बाई१९४ मिटर रहेको आयोजनाका डिभिजनल इन्जिनियर राजेश भक्त्त पोखरेलले जानकारी दिनुभयो । पुलको उद्घाटन गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सरकारले प्रशासन सुधार गरी सुशासन कायम गर्ने बताउनुभएको छ । मन्त्री मोदीले सरकार भ्रष्टाचारका विषयमा शून्य सहनशीलता अपनाएको भन्दै सङ्घीयता बलियो बनाउने दायित्व आम नागरिकको पनि हो भत्रुभयो । उहाँले राष्ट्रसेवक कर्मचारी सरुवामा सरकारले सरुवा प्रणाली कार्यदलले दिएको प्रतिवेदन अनुसार गर्ने भन्दै आफूले यस क्षेत्रमा धेरै विकासको काम गरेको चर्चा गर्नुभयो ।

मन्त्री मोदीले गाउँलाई सहरसँग जोड्न यस्ता पुलले धेरै मद्दत गर्ने भन्दै सरकारले किसानलाई आवश्यक पर्ने मल, बीउ र सिँचाई उलब्ध गराउन प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । कोशी प्रदेश सभा सदस्य जयप्रकाश चौधरीले नहरमा आउने पानीको क्षमता बढाउन नदीको पानी इन्टेक गर्न सुझाव दिनुभयो । उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव कृष्णप्रसाद नेपालले पाँच दशक अघि बनेको यो नहरको संरचनाहरुलाई बलियो बनाउन विभित्र अध्ययनहरु भएको र केही समय भित्रै सुनसरीको सुनसरी खोला र मोरङको लोहन्द्रा खोलाको पानी नहरमा हाल्ने योजना शुरु हुने जानकारी दिनुभयो । सुनसरी–मोरङ सिँचाई आयोजनाका निर्देशक भीलानन्द यादवले सन् १९७० मा बनेको यो नहरबाट सुनसरीमा ४० हजार हेक्टर र मोरङमा २८ हजार हेक्टर जग्गामा सिँचाई सुविधा पुगिरहेको अवस्थामा यो नहरलाई व्यवस्थित र बलियो बनाउन धेरै काम गर्नु पर्ने आवश्यकता औँल्याउनुभयो ।

जल उपभोक्त्ता केन्द्रीय समन्वय समिति चतरा मूल नहर सुनसरी मोरङ सिँचाई आयोजनाका अध्यक्ष तपन दासले किसानको जीवन स्तर बढाउन नहरमा बाह्रै महिना पानी सञ्चालन हुनु पर्ने भन्दै नहरलाई व्यवस्थित बनाउन सरकारले योजनावद्ध काम गर्नु पर्ने धारणा राख्नुभयो । बेलबारी नगरपालिकाका प्रमुख दिलबहादुर राईले नहर र पुल भत्किदा यहाँ धेरै जनताले दुःख पाएको बताउँदै निर्माण कार्यमा निर्माण कम्पनिहरुले कहिले पनि ढिलासुस्ती गर्न नहुने धारणा राख्नुभयो ।