कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्धारा बुद्धजयन्ती र उभौलीको शुभकामना

विराटनगर २२ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २५६७ औं बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नु भएको छ । बुद्ध जयन्तीको महत्वपूर्ण दिनले सबैलाई एक आपसमा मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्नु भउको छ ।

शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले भन्नुभएको छ ,‘ बुद्ध जयन्तीले राष्ट्रियता तथा पारस्परिक एकता र आपसी सद्भावलाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् ।’ हाम्रा जुनसुकै पर्वहरू सबै नेपाली मनहरुलाई राष्ट्रिय एकताको एउटै सुत्रमा बाध्ने माध्यम रहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षा पनि गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले किराँत समुदायको महान् चाड ‘उभौली पर्व’को अवसरमा पनि स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।

उहाँले मानव र प्राकृतिसँग गोहिरो सम्बन्ध रहेको उभौली पर्वले सम्पूर्ण नेपालीबीच आपसी एकता, सहयोग र सद्भाव अभिवृद्धि गरी सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्न‘ भएको छ ।

शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले भन्नु भएको छ,‘ उभौली पर्व, प्रकृति पूजक वा धर्ती पूजकहरु, अर्थात नेपालका किराँती समुदाय भित्रका विभिन्न जातिहरुले मनाउने प्रसिद्ध पर्व हो, जसको अर्को नाम ‘साकेला पर्व’ पनि हो । यस उभौली पर्वलाई ऋतु परिवर्तनको सङ्केत दिने पर्वको रुपमा पनि मनाउने गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि एक महिनासम्म मनाइने उभौली पर्व वसन्त ऋुतुमा पर्दछ । यस पर्वको पहिलो दिन ‘चण्डी नाच’ नाच्ने चलन छ जसमा प्रकृतिको आराधान गरिन्छ । यसरी ‘चण्डी नाच’ नाचिने पर्व भएकाले यस पर्वको पहिलो दिन ‘चण्डी पुर्णिमा’को नामले पनि परिचित छ ।’