विराटनगर ४ वैशाख । अनियमित विद्युत आपूर्तिका कारण उद्योग सञ्चालनमा समस्या भएको भन्दै उद्योग संगठन मोरङले सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ । लामो समय देखि बजारमा ब्याप्त मन्दि, वैंकको चर्को ब्याजदर लगायत आन्तरिक तथा वाह्रय कारणले शिथिल वनेको उद्योग व्यवसाय क्षेत्रले गत पौष महिना देखि भोग्दै आएको विद्युतको अनियमित आपूर्ति, बारम्वारको ट्रिपिङ, लो भोल्टेज, पूर्व सूचना नदिई विद्युत कटौती जस्ता कारणले झनै मरणासन्न अवस्थामा पुर्याएको संगठनले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वर्तमान विषम परिस्थितीमा समेत आन्तरिक बजारको माग र आपूर्तिलाई सन्तुलनमा राख्न, आयातित वस्तु माथिको परनिर्भरतालाई कम गर्न र रोजगारी सिर्जना गर्न सहयोग पुर्याउदै आईरहेका उद्योग व्यवसाय विद्युत समस्याका कारण निर्वाध संचालन हुन सकेनन भने वन्द गरी उद्योगी/व्यवसायी सडकमा आउनुको विकल्प नरहने तर्फ ध्यानाकर्षण गराईएको छ । विद्युत आपूर्तिमा आईरहने समस्याका कारण उत्पादन प्रकृया ठप्प हुने, कच्चा पदार्थ खेर जाने, मिलमेशिनेरी विग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाई भई अनावश्यक रुपमा संचालन खर्च तथा उत्पादन लागतमा वृद्धि हुदै गएको विज्ञप्तीमा भनिएको छ ।
औद्योगिक क्षेत्रको निर्वाध संचालनका लागि अत्यन्त महत्वपूर्ण कम्पोनेन्टका रुपमा रहेको विद्युत आपूर्तिलाई कुनैैपनि सूचना नदिई एवं विभिन्न कारण देखाई कटौति गरिदिदा उत्पादन लागतमा हुने वृद्धि केवल उद्योगको मात्र नभई राज्यको नोक्सानीका रुपमा समेत लिई यसतर्फ गम्भीर हुन उद्योग संगठनले आग्रह गरेको छ ।