विराटनगर २ वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक विस्तारै अराजकतातर्फ अगाडि बढिरहेको बताउनु भएको छ ।
नेपाली कांग्रेस मोरङले नयाँ वर्षका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देशमा आर्थिक, राजनैतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले देशका कुनै पनि क्षेत्र सही तरिकाले हिंड्न नसकेको जिकिर गर्नुभयो । नेता कोइरालाले नेपाल आर्थिक रुपमा श्रीलंका र पाकिस्तान नहुने दाबी गर्नुभयो । श्रीलंका र पाकिस्तानसित नेपालको तुलना नहुने उल्लेख गर्दै उहाँले सुधार्न सकिने बताउनुभयो । त्यसैगरी पूर्वउपप्रधानमन्त्रीसमेत रहनु भएका नेता विजयकुमार गच्छदारले सात दशकभन्दा लामो इतिहास बोकेको कांग्रेस संसदीय लोकतन्त्रलाई बलियो बनाउन अझै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्यसमेत रहनुभएका केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेससहितका पार्टीले आफ्नो विचार र कार्यशैलीमा परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी उपनिर्वाचनमा मूलधारका पार्टी पराजित भए देशको राजनीति कसरी अगाडि बढ्छ भन्ने प्रश्न उब्जिने उल्लेख गर्नुभयो ।
सो अवसरमा पूर्वकेन्द्रीय सदस्य हसन अन्सारी, कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश इन्चार्ज कविराज घिमिरे, नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, उपसभापति भक्तिनाथ माझी, सचिव ललित श्रेष्ठ, महासमिति सदस्य गयानन्द मण्डल, महाधिवेशन प्रतिनिधि सीता कार्की, विराटनगर महानगर समितिका सभापति दीपक चापागाईं, नेविसंघका मोरङ सभापति सरोज पोखरेललगायतले ठूला पार्टीहरुमा सुद्धीकरण आवश्यक रहेको बताउनुभएको थियो ।