विराट गोल्डकप : विराटनगर सिटी सेमिफाइनलमा प्रवेश

विराटनगर १० चैत । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सहिद रंगशालामा बिहीबार राती सम्पन्न खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै घरेलु टोली विराटनगरले अन्तिम चारमा स्थान पक्का गरेको होे । जितमा विराटनगरका आशिष श्रेष्ठ नायक भए । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि थप गरिएको अतिरिक्त समयकोे १ सय १७ औं मिनेटमा विराटनगरका आशिष श्रेष्ठले निर्णायक गोल गरे । दिवाकर चौधरीले निकालिदिएको पासलाई आशिषले गोलमा परिणत गरे । खेलको १ सय ३ औं मिनेटमा सागर थापाको ठाउँमा मैदान प्रवेश गरेका आशिषले टिमको जितका लागि निर्णायक गोल गरेका हुन् । पहिलो हाफसम्म पुलिसले विराटनगरलाई दबाबमा राखेको थियो । निर्धारित समयसम्म प्रहरीका लागि निकै संघर्षपूर्ण बन्यो । प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो । पुलिसले २०७४ सालमा विराट गोल्डकपको उपाधि हात पारेको थियो । पूर्व विजेता प्रहरीले दर्जन बढी सुन्दर अवसर खेर फाल्दा प्रतियोगिताबाट बाहिरन बाध्य भयो । खेलको पाँचौ मिनेटमा पुलिसका बुद्ध लामाको प्रहार विराटनगरका गोलरक्षक प्रदीप भण्डारीले उत्कृष्ट बचाए । १८ औं पुलिसका रवि शंकर पासवानको प्रहार बारमा लागेर फर्किएको थियो ।

प्रतियोगिताको म्यान अफ द म्याच विराटनगरका उत्सव राई घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पाए । प्रतियोगिताको बिजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । दोश्रो क्वाटरफाइनल खेलमा शुक्रबार साँझ नेपाल आर्मी र जावलाखेल युथ क्लबबीच खेल हुनेछ ।