विराटनगर ६ चैत । आगामी चैत ९ गतेदेखि विराटनगरमा हुने विराट गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ ।
आगामी चैत १६ गते सम्म स्थानीय शहिद रंगशालामा हुनेमा रात्रीकालिन प्रतियोगिताका लागि मैदान मर्मत तथा प्याराफिट लगायतका कामहरु सम्पन्न भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रतियोगितामा नेपालका ए डिभिजन क्लव सहित भारत र भुटानको टिमको सहभागिता रहने विराट गोल्डकप आयोजक समितिका सहसंयोजक शुभाषिश कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा तीन विभागिय टिमहरु एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव, संकटा, जावालाखेल र आयोजक विराटनगर सिटी फुटवल क्लव, भारत केरलाको लुका सकर, भुटानको ड्रुक लयुल फुटवल क्लवले प्रतिष्पर्धा गर्ने छन् । प्रतियोगितामा आउने निश्चित भएकामे दिल्ली एफसी नआउने भएको छ । विराटनगरमा पछिल्लो दिनमा भईरहेका आन्दोलनका कारण असुरक्षा देखाएर दिल्ली टिम नआउने भएको सहसंयोजक कोइरालाले जानकारी दिए ।
दिल्ली नआउने भएपछि भुटानको टिम आउने भएको उनको भनाई छ । प्रतियोगिताका विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख २५ हजार प्राप्त गर्ने आयोजकले बताएको छ । गत संस्करणको विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार प्राप्त गरेका थिए ।
प्रतियोगिताको क्वाटरफाईनल चरणका खेलका लागि दुई सय र सेमीफाईनल र फाईनलका लागि खल्ति एपबाट ४ सय र रंगशालामा टिकट लिँदा ५ सय निर्धारण गरिएको बताईएको छ । चैत ९ गतेको उद्घाटन खेल आयोजक विराटनगर सिटी फुटवल क्लव र नेपाल पुलिस क्लववीच हुने छ ।
विराटनगरमा २०१८ सालबाट महेन्द्र गोल्डकपका नाममा यो प्रतियोगिता आयोजना गर्न थालिएको थियो । महेन्द्र गोल्डकपका नाममा २७ औँ संस्करणसम्म आयोजना भयो । तर, मुलुकको राजनीतिक परिवर्तनसँगै २०६८ सालबाट नाम परिवर्तन गरेर विराट गोल्डकप बनाइयो । नाम परिवर्तन भएपछि आयोजना हुन लागेको आगामी प्रतियोगिता सातौं संस्करणको हो ।
विराट गोल्डकप ट्रष्टले प्रतियोगिता आयोजना गर्न दुई करोड ५० लाख रूपैयाँ खर्च हुने अनुमान गरेको छ ।