प्रविधि उद्योगका शीर्ष अर्बपति

फोब्र्स पत्रिकाले सार्वजनिक गरेको २०२२ को विश्वका अर्बपतिहरूको सूचीमा ३३२ जना अर्बपतिहरू प्रविधि क्षेत्रका रहेका छन् ।

गतवर्ष यस्तो संख्या ३६५ थियो । यद्यपि वित्तीय तथा लगानी र उत्पादन उद्योगको क्षेत्रपछि सबैभन्दा धेरै अर्बपति भएको तेस्रो आकर्षक क्षेत्र चाहिं सूचना प्रविधि क्षेत्र नै रहेको छ ।

वित्तीय तथा लगानीको क्षेत्रमा ३ सय ९३ जना अर्बपति रहेका छन् भने उत्पादन उद्योगको क्षेत्रमा ३३७ जना अर्बपति रहेका छन् ।

फोब्र्सको सूचीमा परेका विश्वका प्रविधि क्षेत्रका अर्बपतिहरूको कुल सम्पत्ति २.१ ट्रिलियन डलर रहेको छ, जुन अघिल्लो वर्ष २.५ ट्रिलियन डलर थियो । यति हुँदाहुँदै पनि विश्वका अर्बपतिहरूको शीर्ष स्थान प्रविधि क्षेत्रका अर्बपतिहरुले नै कब्जा गरेका छन् ।

विश्वका टपटेन अर्बपतिहरूमध्ये ६ जना प्रविधि क्षेत्रकै छन् । स्मरण रहोस् फोब्र्सले मेटाका सीईओ मार्क जुकरबर्ग तथा स्न्यापच्याटका संस्थापकहरू इभान स्पाइजेल र बबी मर्फीलाई प्रविधि क्षेत्रमा नराखेर मनोरञ्जन तथा सञ्चारको क्षेत्रका अर्बपतिको रुपमा वर्गीकरण गरेको छ ।

त्यस्तै रकेट कम्पनी स्पेस एक्स तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई अटोमोटिभ क्षेत्रमा राखिएको छ ।