सामुदायिक विद्यालयका विद्यार्थीलाई साईबर सचेतना कार्यक्रम

विराटनगर, २६ माघ । विराटनगरका सामुदायिक विद्यालयका विद्यार्थीलाई साईबर सचेतना सम्वन्धि अभिमुखीकरण दिईएको छ ।

नेपाल दुरसञ्चार प्राधिकरणको सहयोगमा अपिल मिडिया प्रालि काठमाण्डौंले आज विराटनगर ८ को महेन्द्र माविका ८, ९ र १० कक्षाका ८० विद्यार्थीलाई साईबर सचेतना सवन्धी अभिमुखीकरण दिईएको हो ।

सामाजिक सञ्जालको प्रयोग गर्दा यौन दुव्र्यवहार, वेचविखन ठगी लगायतका कार्यका साथै विभिन्न अपराधिक कार्य समेत हुनसक्ने सम्भावना भएकाले यसको प्रयोगमा सावधानी अपनाउनु जरुरी रहेको विराटनगर उपमहानगपालिकाका प्रमुख शिल्पा निराला कार्कीले बताउनुभयो । उहाँले सामाजिक सञ्जालको प्रयोग अध्ययन, ज्ञानका कुरा आर्जनका लागि प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘ आफनो व्यक्तिगत विवरण दुरुपयोग हुने सम्वन्धमा सचेत हुनुपर्नेमा ध्यान दिन आग्रह गर्छु ।’

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रमुख प्रभुप्रसाद ढकालले सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनु पर्ने सुरक्षित उपायका सम्वन्धमा र दुव्र्यवहार भएमा प्रहरीलाई जानकारी दिन आग्रह गर्नुभयो । विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झा , सहजकर्ता इन्जिनियर प्रितम साहले सामाजिक सञ्जालको सही प्रयोग गर्दै अनुमती विना कसैको फोटो तथा विवरण सार्वजनिक नगर्न आग्रह गर्नु भयो ।

विद्यार्थीहरु सुमन राजवंशी र सिसन राईले प्राप्त जानकारीबाट सामाजिक सञ्जालको सुरक्षित प्रयोगका लागि सहयोग पुगेको धारणा राख्नु भएको थियो ।
शुक्रबार आदर्श माविका विद्यार्थीलाई अभिमुखीकरण दिईने आयोजकले जनाएको छ ।