प्रदेश १ का मन्त्रीहरुको कार्यविभाजन सोमबार हुने

विराटनगर ५ माघ । प्रदेश १ का मन्त्रीहरुको कार्य विभाजन सोमबार हुने भएको छ ।

विना विभागिय मन्त्रीका रुपमा रहेका सवै मन्त्रीहरुले सोमबारबाट संवन्धित मन्त्रालयबाट कार्य शुरु गर्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो । आज पत्रकारहरुसँगको भेटमा मुख्यमन्त्री कार्कीले विना विभागियका रुपमा काम गरिरहनु भएका मन्त्रीहरुले सोमबारबाट विभागिय मन्त्रालयको जिम्मेवारी पाउने उहाँको भनाई छ । मुख्यमन्त्री कार्कीले भन्नुभयोे,‘ आईतबारबाट जिम्मेवारी सम्हाल्नेगरि तयारी भएपनि सार्वजनिक विदाका कारण सोमबारको तयारी गरिएको हो ।’ मन्त्रिपरिषद्को पहिलो बैठकले कायम रहेको मन्त्रालयको संख्या घटाउने निर्णय अनुसार अहिले मन्त्रालयको नामलाई अन्तिम रुप दिने काम भईरहेको मुख्यमन्त्री कार्कीले बताउनुभयो ।

मन्त्रालय गाभे पनि चालु आर्थिक वर्षको मन्त्रालयगत बजेटमा कुनै समस्या नहुने उहाँले बताउनुभयो । गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त कार्कीले पुस २५ गते चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । पुस २९ गते प्रदेशसभाबाट विश्वासको मत लिनुअघि ३ जना मन्त्री थप्दै मन्त्रिपरिषद् ७ सदस्यीय भएको छ । नवनियुक्त सवै मन्त्रीहरुको जिम्मेवारी तोकीएको छैन । प्रदेश १ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित हाल १३ वटा मन्त्रालय रहेका छन् । मुख्यमन्त्री सहित सवै मन्त्रालयको जिम्मेवारी अहिले मुख्यमन्त्री कार्की मातहत रहेको छ ।

हाल कायम रहेका मन्त्रालयलाई ९ वटामा कायम गरि जिम्मेवारी दिने मुख्यमन्त्री कार्कीको तयारी छ । राजेन्द्र राई नेतृत्वको सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित ७ वटा मन्त्रालयलाई बढाएर १३ वटा पुर्याएको थियो ।