काँग्रेसको संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

विराटनगर १५ पुस । नेपाली काँग्रेस प्रदेश १ को संसदीय दलको नेतामा झापाका उद्धव थापा निर्वाचित भएका छन् ।


शुक्रबार भएको निर्वाचनमा थापाले १८ मत अर्थात ५१ प्रतिशत मत ल्याउँदै विजयी भएको प्रदेश १ संसदीय दलको नेता निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीले जानकारी दिए । थापासहित संसदीय दलको नेतामा अमृत अर्याल र केदार कार्कीले उम्मेदवारी दिएका थिए ।

संविधानसभा सदस्य एवम नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका अर्यालले २ र प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले ९ मत ल्याएका छन् । यस्तै उद्वव थापा नेपाली काँग्रेस प्रदेश १ का सभापति हुन् । थापा कृष्णप्रसाद सिटौला लाइनका हुन् । कार्की डाक्टर शेखर कोइराला र अर्याल संस्थापन पक्षका हुन् ।

सर्वसम्मत नेता चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन प्रक्रियाबाट संसदीय दलको नेता टुंगो लगाइएको हो । प्रदेश १ मा काँग्रेसका २९ जना प्रदेशसभा सदस्य छन् । उनीहरु सबै जनाले संसदीय दलको नेताको मतदान प्रक्रियामा सहभागी भएका थिए ।