विराटनगरलाई आर्थिक राजधानीमा रुपान्तरण गर्न एमाले प्रतिबद्ध : एमाले नेता घिमिरे

विराटनगर, १९ कात्तिक । मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले विराटनगरलाई प्रदेश १ को आर्थिक क्षेत्रको राजधानीमा रुपान्तरण गर्न एमाले प्रतिबद्ध रहेको बताउनु भएको छ । एमाले नेतृत्वको सरकार बनेपछि विराटनगरमा आर्थिक गतिविधिहरु चलायमान हुने घिमिरेले बताउनुभयो । नेकपा एमाले प्रदेश कमिटीले तयार गरेको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रदेशका सहइन्चार्ज समेत रहनु भएका घिमिरेले सो कुरा बताउनु भएको हो ।
मुलुकको पर्यटनको गन्तव्य पोखरा, लुम्विनी मात्रै नहुने घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘ विराटनगरलाई पनि पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने छ ।’ उदयपुरमा रहेको सिमेन्टको कच्चा पदार्थको संरक्षण र उपयोग गर्न सकेमात्रै पनि समृद्ध प्रदेश निर्माण गर्न सकिने एमाले नेता घिमिरेको भनाई छ । प्रदेश १ लाई जडिबुटीबाट पनि समृद्ध बनाउन सकिने उहाँको भनाई छ ।
एमालेले प्रदेश सरकारमा ३ वर्ष ८ महिना रहँदा उल्लेख्य काम गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ भौतिक निर्माण र सामाजिक विकासमा उल्लेख्य काम भयो । ’ एमाले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन प्रतिवद्व रहेको घिमिरेले बताउनुभयो । यसको प्रकृया आँफुहरु सरकारमा रहँदा शुरु भईसकेको उहाँले बताउनुभयो । घिमिरेले भन्नुभयो,‘ हामी सरकारमा नहरेपछि यो कामले निरन्तरता पाउन सकेन, सरकारमा गएपछि हिजो भएका कामले निरन्तरता पाउने छन् ।’ एमालेले जम्बो मन्त्रिपरिषद् नबनाउने पनि नेता घिमिरेको भनाई छ । उहाँले भन्नुभयो,‘ अहिले कायम रहेको मन्त्रालयको संख्यालाई पहिलेकै अवस्थामा पुर्याईने छ ।’