विराटनगर, १५ कात्तिक । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामाग्री ढुवानी गरिसकेको जनाएको छ ।
यीमध्ये डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी भइसकेको छ भने बाँकी जिल्लामा थप सामाग्री दोस्रो चरणमा लगिने कार्यक्रम रहेको निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
हालसम्म आयोगले ९३ ट्रक सामान ढुवानी गरिसकेको छ । दोस्रो चरणमा धेरै जनसंख्या र निर्वाचन क्षेत्र भएका तराईका जिल्लामा सामग्री ढुवानी गरिने भएको छ । निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत सात जिल्लाको मात्र मतपत्र छपाइ हुन बाँकी रहेको आयोगको भनाइ छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको सबै मतपत्र छपाइ सम्पन्न भएर ७५ जिल्लामा ढुवानीसमेत भइसकेको छ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत अब काठमाडौं, ललितपुर, भक्तपुर, बारा, धनुषा, सर्लाही र रौतहट जिल्लाको मतपत्र मात्र छपाइ हुन बाँकी रहेको छ । यी जिल्लामा करिब ८४ लाख मतपत्र आवश्यक पर्ने छ । आयोगले हालसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि करिब चार करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि तीन करोड चौध लाख ५६ हजार पाँच सय मतपत्र छपाइ गरिसकेको छ ।
गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, प्युठान, रोल्पा, दाङ, सल्यान, रुकुम पश्चिम तथा रुकुमपूर्वका मतपत्र ढुवानीसमेत भइसकेको छ ।