एमाले उम्मेदवार ढकाल जनता भेट्दै, सुझाव लिँदै

विराटनगर, ३० असोज । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद ढकालले जनतासँग सुझाव लिँदै हिड्नुभएको छ ।

मोरङ क्षेत्र नम्बर ४ का जनताको जीवनस्तर उकास्ने प्रमुख एजेण्डा लिएर चुनावी मैदानमा उत्रनुभएका ढकालले त्यस क्षेत्रका जनताको घरदैलोमा पुगेर सुझाव लिन थाल्नुभएको हो ।

आज ४ नम्बर क्षेत्र अन्तर्गत पर्ने बेलबारी नगरपालिकाको ६ नम्बर वडाका यलम्बर चोक, बोराबाँध, सीमाबाँध, बनौल, दुर्गा टोल, जरुवा टोल, सोमबारे बजार क्षेत्रका जनताका बिचमा पुगेर सुझाव लिनुभएको छ । नेताहरुले भाषण मात्रै गर्ने तर जनताका गुनासा नसुन्ने परिपाटीको विकास भइरहेका बेला नेता ढकालले गुनासो सुन्ने र सुझाव लिने काम अघि बढाएको बताउनुभयो । त्यस क्षेत्रका जनताले सुनसरी मोरङ सिंचाई आयोजना अन्तगर्तको नेता चोक– केरौन नहरको सडकको कालोपत्रे, सिंचाई सुविधा उपलब्धता, उत्पादित कृषि उपजको सहज बजार, कोल्ड स्टोरजस्ता विषयलाई सम्बोधन गरिदिन सुझाव दिएका छन् ।

सुझाव सुनेपछि नेता ढकालले स्थानीय जनतामा कुनै स्वार्थ नरहेको भन्दै अपरिहार्य विषय नै उठाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘यी मागहरु पूरा गर्ने जनप्रतिनिधिको दायीत्व हो, जुन म पनि पूरा गरि छाड्छु ।’