विराटनगर ३० असोज । विराटनगर महानगरपालिका मेयर नागेश कोइराला र युरोपियन युनियन (ईयू)को टोलीबीच आज भेटवार्ता भएको छ ।
डा. जोइले हिभोनेटको नेतृत्वमा आएको टोलीले मेयर कोइरालासित भेटवार्ता गरेको हो । ईयूको टोलीले महानगरमा बालश्रम, मानवअधिकार र भौतिक विकासको अवस्था विषयमा चासो राखेको थियो । सो भेटमा महानगरका मेयर कोइरालाले विराटनगर महानगरपालिकाले बालश्रम न्यूनीकरणका लागि गरिरहेको प्रयास, भएको उपलब्धिसहित स्वास्थ्य र शिक्षाको क्षेत्रमा भइरहेका कामका विषयमा जानकारी गराउनु भयो ।
कोइरालाले महानगरले शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । उहाँले महानगरले स्थापना गर्ने सिटी अस्पतालको निर्माणका लागि सहयोग गर्न ईयूको टोलीसित आग्रह गर्नु भएको थियो । त्यस्तै विराटनगरमा डुबान समस्या रहेको बताउँदै पूर्वमा रहेको सिंघिया र पश्चिमको केशलिया खोलामा तटबन्ध निर्माणका लागि समेत महानगरले योजना बनाएको उल्लेख गन्नु भयो ।
भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नम्बर ३ का वडाध्यक्ष वासुबहादुर बस्नेत, इन्सेकका प्रदेश प्रमुख सोमराज थापालगायतको सहभागिता रहेको थियो ।